Sajhamanch Archive

वार्षिकउत्सवमा ज्येष्ठ नागरिकलाई सम्मान

Published: in राष्ट्रिय समाचार by .

माइधार । श्री टाँसी छोयलिङ बौद्ध गुम्बाले आफ्नो २५औं वार्षिकउत्सवको अवसर पारेर ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ ।

शनिबार शिवसताक्षी–१०, माइधारमा अवस्थित बौद्ध गुम्बा परिसरमा एक कार्यक्रमका बीच दुई जनालाई सम्मान गरेको हो । सम्मानित हुनेहरुमा कनकाई नगरपालिका ५ का ९३ वर्षीय सन्तबहादुर गुरुङ्ग र झापा गाउँपालिका वडा नं. ७ का ९२ वर्षीय मनमाया गुरुङ्गलाई सम्मान गरिएको थियो ।

संस्थाका अध्यक्ष धनबहादुर गुरुङ्गको सभापतित्व र तमु ह्युल छोँज धी गुरुङ राष्ट्रिय परिषद्का केन्द्रीय सदस्य जलकुमार गुरुङ्गको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा संस्थाका सदस्य एवम् परिषद्का जिल्ला सदस्य मीना गुरुङ्ग, परिषद्का केन्द्रीय सदस्य दिलिप गुरुङ्ग, प्रदेश नं. १ उपाध्यक्ष आनन्द गुरुङ्ग, प्रदेश १ सदस्य सुरेशकुमार गुरुङ्ग, याम्बु छोयलिङ बौद्ध गुम्बा पृथ्वीनगरका अध्यक्ष टीकाराम गुरुङ्ग, परिषद्का जिल्ला उपाध्यक्ष रामबहादुर गुरुङ्ग लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि समेत रहेका जलकुमार गुरुङ्गले संस्थाको प्रतिवेदन उत्कृष्ट भएकोमा बधाई दिएका थिए । गुरुङ राष्ट्रिय परिषद्ले झापाको बिर्तामोडमा दोस्रो राष्ट्रिय महाधिवेशन सफल गर्दैगर्दा संसारका गुरुङ्गहरु एक हौं भनेर घोषणा पत्रमा उल्लेख गरेको प्रमुख अतिथि गुरुङ्गले बताए । उनले भने,‘बौद्ध धर्मको प्रचारप्रसार गरी धार्मिक पर्यटन प्रर्बद्धन गर्नुपर्नेमा जोड दिए ।

झापाको धार्मिक तथा पर्यटकीय दृष्टिकोणले केन्द्रविन्दुका रुपमा कनकाई माइधाम राजमार्गसँग जोडिएको यस गुम्बामा धार्मिक पर्यटक प्रबद्र्धन गर्ने उद्देश्यका साथ आगामी वर्षमा एक करोडको लागतमा नयाँ गुम्बा निर्माण गरिने भएको योजना प्रतिवेदनमा प्रस्तुत गरिएको थियो ।

आन्तरिक लेखापरीक्षक सुरेश गुरुङ्गले संस्थाको प्रतिवेदनलाई प्रस्तुत गर्दै उत्कृष्ट भएको बताए । गुम्बाका उपाध्यक्ष यामकुमार गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव मदनकिशोर गुरुङ्गले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *