जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड : १ लाख ८४ हजार ८०१ जनालाई १०/१० कित्ता, ५ जनाले पाए ११ कित्ता
Published:
by .काठमाडौं । जीवन विकास लघुवित्त वित्तिय संस्थाको धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड गरिएको छ । लघुवित्तको धितोपत्र निष्कासन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेडले बुधबार सेयर बाँडफाँड गरेको हो ।
सेयर आवेदन दिएका मध्ये १ लाख ८४ हजार ८०१ जनाले १०/१० कित्ताका दरले र ५ जनाले ११र११ कित्ता सेयर पाएका छन् । १८ लाख ३३ हजार ५०७ जनाले भने सेयर पाएनन् ।
असार ११ गतेदेखि सार्वजनिक निष्कासन खुला गरेको कम्पनीको सेयरका लागि २० लाख ६० हजार आवेदकबाट ३ अर्ब ९ करोड १० लाख ५३ हजार रुपैयाँको ३ करोड ९ लाख १० हजार ५०० कित्ताका लागि आवेदन परेको थियो ।
कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्युअर रेटिङ त्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । यसले कम्पनीले समयमा नै वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित र मध्यम क्रेडिट जोखिम रहेको जनाउँछ ।
४१ करोड ६ लाख ७० हजार चुक्ता पुँजी रहेको लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मा ५६ करोड ३९ लाख ३९ हजार खुद नाफा आर्जन गरेको छ । लघुवित्तको सञ्चित तथा जगेडा कोषमा १ अर्ब १८ करोड ३९ लाख १० हजार रहेको छ ।
आर्थिक वर्ष २०७६/०७७ को लेखापरीक्षणपछिको वित्तीय विवरणानुसार कम्पनीको प्रतिसेयर आम्दानी १०४ रुपैयाँ ९७ पैसा रहेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी अझै बढी रहेको छ । यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ ३०५ रुपैयाँ २७ पैसा रहेको थियो ।
जीवन विकास समाज नामक फिन्गोबाट लघुवित्त कारोबार गर्दै आएको संस्थाले राष्ट्र बैंकको फिन्गोलाई लघुवित्तमा रूपान्तरण गर्ने नीतिअनुरूप लघुवित्तमा रूपान्तरण भएको थियो । कम्पनीलाई लघुवित्त क्षेत्रकै उत्कृष्ट कम्पनीको रूपमा लिने गरिन्छ ।
Comments