गिनिज बुकमा अर्को कीर्तिमानको दावी गर्दै झापाका अर्पण शर्मा
Published:
by .झापा । स्मरण शक्तिमा विश्व किर्तीमान बनाएका झापाली युवा अर्पण शर्माले फेरि नयाँ रेकर्ड बनाएर गिनिज बुकमा नाम लेखाउन प्रयासरत छन् ।
वि.सं. २०७२ मा ४२ वटा वस्तुहरुको सिक्वेन्स (क्रम) सम्झेर स्मरण विधामा नयाँ किर्तीमान बनाएर अर्पणले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नाम लेखाएका थिए । तर भारतका नवल पंजियारले एक मिनटमा ५४ वटा वस्तुहरुको सिक्वेन्स मिलाएर अर्पणको रेकर्ड तोडिदिए ।
स्मरण शक्तिमा अब्बल अर्पणले पुनः यही विधामा ८३ वस्तुहरुको क्रम एक मिनटमा सम्झिएर अर्को किर्तीमानको दावी गरेका छन् । आज बिर्तामोडमा पत्रकार सम्मेलन गरेर दिइएको जानकारी अनुसार गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र नमूना माविको सभाहलमा उनले एक मिनटमा ८३ वटा वस्तुहरुको क्रम सम्झिएर नयाँ किर्तीमान बनाएको जानकारी गराए ।
‘नेपाल प्रहरीका प्रहरी नीरिक्षक जीवनकुमार मैनाली, लायन्स क्लब अफ भद्रपुरका अध्यक्ष योगेन्द्र पौडेल लगायतको उपस्थितिमा एक मिनटमा ८३ वटा वस्तुहरुको क्रम स्मरण गर्न सफल भएको छु’ शर्माले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ ।
इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्य, अरनिको मावि भद्रपुरका प्रधानाध्यापक पुरुषोत्तम खरेल, अग्रज पत्रकार मोहनकाजी लगायतले पत्रकार सम्मेलनकै माझ अर्पण शर्माको अद्भुत क्षमताको प्रशंशा गर्दै गिनिज बुकमा नाम लेखाउन भइरहेको प्रयासले सार्थकता पाउनेमा विश्वस्त रहेको बताए ।
Comments