Sajhamanch Archive

प्रहरीले नै दिदैछ बलात्कारीको आँखा फुटाउने तालिम

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं । दिनप्रतिदिन बलात्कारकार घटना बढ्दै गएसँगै नेपाल प्रहरीले  बलात्कार विरुद्ध जुद्न छात्राहरुलाई तालिम दिने भएको छ ।

बलात्कारका घटनाको अनुसन्धानमा संवेदनशील नभएको आरोप खेपेको नेपाल प्रहरीले बलात्कारविरुद्ध देशव्यापी रूपमा तालिम दिन तयारी थालेको हो । तालिममा बलात्कारीको आँखा फुटाउनेसम्मको ‘कोर्स’ समावेश गरिएको प्रहरी स्रोत बताउँछ  ।

अहिले दैनिकजसो औसत तीनवटा जति बलात्कारका उजुरी प्रहरीमा दर्ता भइरहेका छन्  गत आर्थिक वर्षमा १ हजार ४ सय ८० बलात्कारको उजुरी परेको प्रहरीको तथ्यांक छ । घटना बढ्नुको विश्लेषण गरेर नयाँ अभियान सुरु गर्न लागिएको प्रहरी प्रवक्ता एसएसपी शैलेश थापाले जानकारी दिनुभयो ।

एक महिनापछि बलात्कारविरुद्ध नयाँ सचेतना तथा तालिम अभियान सुरु हुने प्रहरीको भनाई छ । यो अभियानमा प्रहरीले बलात्कारबाट कसरी जोगिने र कसैले बलात्कार प्रयास गरे कसरी प्रतिकार भन्ने तालिम दिनेछ । बलात्कार गर्न खोजे सुरुमा उसको आँखामा र त्यसपछि संवेदनशील अंगमा आक्रमण गर्ने तालिम प्रहरीले किशोरीहरूलाई दिनेछ । प्रहरीका अनुसार  ७७ वटै जिल्लाका १२ कक्षासम्मका छात्रालाई तालिममा समेटिने छ ।

अहिले प्रहहरी महानिरीक्षकको सचिवालयले नयाँ अभियानका लागि गृहकार्य गरिरहेको छ । सामुदायिक प्रहरीमार्फत कार्यक्रम सञ्चालन गर्न लागिएको छ ।

प्रहरीले अन्य देशमा बलात्कारका घटना न्यूनीकरण गर्न दिइने तालिमलाई आधार बनाएर नयाँ अभियान सुरु गर्न लागेको बताएको छ । गृहमन्त्री रामबहादुर थापाले पनि बलात्कारविरुद्ध विशेष अभियान सुरु गर्न दुई साताअघि प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई निर्देशन दिनुभएको थियो ।

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्याको घटनामा सरकार दबाबमा छ ।  लागुऔषध र मदिराका कारण महिला हिंसालगायत अपराध बढेको निष्कर्षसहित गृह मन्त्रालयले देशव्यापी नयाँ अभियान सुरु गरेको छ । लागुऔषध नियन्त्रणसम्बन्धी कार्ययोजना, २०७५ निर्माण गरी शुक्रबारदेखि अभियान कार्यान्वयन सुरु गरेको हो ।

गृहमन्त्री थापाको उपस्थितिमा शुक्रबार कार्ययोजना सार्वजनिक गरी यसको कार्यान्वयनका लागि युवा, महिला, विद्यार्थी नेता तथा सरोकारवालासँग छलफल भएको छ । कार्ययोजनाअन्तर्गत हरेक वडा ‘लागुऔषध अपराध अन्त्य सचेतना अभियान सञ्चालन समिति’ गठन हुनेछ । सो समितिले आ–आफ्नो वडामा लागुऔषध तथा मदिरा नियन्त्रणका लागि कार्यक्रम सञ्चालन गर्नेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *