Sajhamanch Archive

नगरप्रमुखहरुको निष्कर्षः कृषिमा लगानी बालुवामा पानी हाले सरह

Published: in राष्ट्रिय समाचार by .

सुरुङ्गा । हिलोमा गाडिएर खेती किसानी गर्ने कृषक भन्दा जिल्ला र शहरबजारमा बस्ने र कागजी प्रोपोजल बनाउने कृषकको हातमा सरकारी अनुदान जाने गरेको झापाका स्थानीय तहका प्रमुखले बताएका छन ।

शनिवार झापाका १५ स्थानीय तहका प्रमुख र उपप्रमुखहरुको कनकाई नगरपालिकामा भएको भेलामा सहभागी प्रमुखहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।

अझैपनि झापाका विभिन्न कृषि फर्मका नाममा आउने अनुदानहरु कागज मिलाएकै भरमा पर्ने गरेको र सच्चा कृषकहरु भने सधै उपेक्षित हुनु परेको कार्यक्रममा प्रमुख र प्रतिनिधिहरुको गुनासो रहेको थियो । फर्म संचालक केही टाठाबाठाहरुले आफ्नो फर्ममा गाउँ भरीका गाइँभैसीहरु २ दिनका लागि भाडामा लगेर बाँध्ने र फोटो खिच्ने र प्रतिनिधिहरुको भ्रमण र अनुदान पछि कृषक नै नापत्ता हुने गरेकोले सरकारको कृषि क्षेत्रको अनुदान बालुवामा पानी हाल्नु सरह भएको छ । गाउँमा कागजी कृषि फर्म बढि भए यिनीहरुले कृषि उपज उत्पादन गर्नुभन्दा कागज मिलाएर अनुदान लिनमा जोड दिने गरेकोले झापामा ठुलो समस्याका रुपमा रहेको कार्ययक्रम उपस्थित अधिकांशको भनाई थियो ।

कार्यक्रममा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओलीले कार्यपत्र समेत प्रस्तुत गरेका थिए । उनले झापालाई कृषिमा आत्मनिर्भर बनाएर धेरै कृषकलाई रोजगारी बनाउनुपर्ने सुझाव दिए ।
यसैबीच भेलाले ओलीकै संयोजकमा ११ सदस्यीय झापा जिल्ला एकीकृत बृहत कृषि परियोजनाका लागि समिति गठन गरेको छ । समितिमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल , गौरादह नगरपालिका प्रमुख रोहित शाह , कचनकवल गाउँपालिकाका अध्यक्ष अन्जार आलम , झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाह , कमल गाउँपालिकाकी प्रमुख मेनुका काफ्ले र विषय विज्ञहरु यदु उप्रेती , राजेन्द्र उप्रेती , मेघराज तिम्सिना र वेदनिधि चापागाँई रहेका छन् ।

समितिले एक महिनाभित्र झापाका कृषकहरुलाई सही अनुदान र कृषि उपजको बजारीकरणका लागि उचित कार्यक्रम बनाउने कार्यदलका संयोजक रोमनाथ ओलीले जानकारी दिए । समितिले कम्तिमा झापालाई धान , मकै र अन्य अन्नवालीमा आत्मनिर्भर हुदै वढि कृषकलाई रोजगारी दिलाइने समितिका सदस्य समेत रहेका कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताए । भेलामा प्रदेशसभा सदस्य हिराकुमार थापा , अर्जुन राई , शिवसताक्षी नगरपालिका प्रमुख चन्द्रकुमार शेर्मा , अर्जुनधारा नगरपालिका प्रमुख हरि राना , कनकाई नगरपालिकाका प्रवत्ता गोविन्द पौडेल लगायतले बोलेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *