Sajhamanch Archive

दूर्घटना न्यूनीकरण महाअभियानमा चालकलाई सम्मान र सडक कविता प्रतियोगिता

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । झापामा मंगलबार दूर्घटना न्यूनीकरण महाअभियान २०७५ सञ्चालन भएको छ ।

वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा दूर्घटना न्यूनीकरणमा टेवा पुर्याउन महाअभियान अन्तर्गत विभिन्न कार्य सम्पन्न गरिएको हो ।

पूर्व–पश्चिम राजमार्गका लागि बिर्तामोडमा र मेची राजमार्गका लागि चारआलीमा एकसाथ उक्त अभियान सञ्चालन गरिएको हो । चारआलीका लागि वीरता जेसीज र ट्राफिक प्रहरीसँगै स्थानीय आयोजकको भूमिका नविन युवा क्लवले निर्वाह गरेको थियो ।

महाअभियानमा जिल्लाका ५० बढी सक्रिय सामाजिक संस्थाले सहभागिता जनाएका थिए । महाअभियानमा विभिन्न एक हजार सवारीसाधनका चालकलाई खादा र अविर पहिर्याएर सम्मान गर्दै चकलेट प्रदान गरिएको थियो ।

त्यस्तै, चेतनामुलक विभिन्न नारा लेखिएका तीन हजार स्टिकर टाँस्नुका साथै ५० हजार पर्चा वितरण गरिएको थियो । महाअभियान अन्तर्गत नै दूर्घटना न्यूनीकरणका लागि चेतनामुलक सडक कविता प्रतियोगितासमेत सम्पन्न भएको छ ।

वीरता जेसीजका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको महाअभियानको उद्घाटन १ नम्बर प्रदेशका प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक केदार रिजालले गरेका थिए । प्रमुख अतिथि रिजालले सो अवसरमा चालकहरुलाई सम्मान गर्दै गाडीमा स्टिकर समेत टाँसेका थिए ।

कार्यक्रममा झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेल, झापाका उत्कृष्ट नागरिक तथा सहारा नेपालका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, जेसीज पूर्वअध्यक्ष समाज झापाका अध्यक्ष विनोद बस्नेत, जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख राजेश राईले दूर्घटना न्यूनीकरणका लागि जनचेतना र सकारात्मक सन्देश प्रवाह गर्न यो महाअभियान प्रभावकारी भएको बताए ।

कार्यक्रममा १ नम्बर प्रदेश ट्राफिक प्रहरी प्रमुख रविकुमार पौडेल, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख भिमप्रसाद ढकाल, इप्रका बिर्तामोडका प्रमुख कृष्णप्रसाद कोइराला, बिर्तामोड नगरपालिकाका प्रवक्ता अग्निप्रसाद पाण्डेले महाअभियानको प्रशंसा गरेका थिए ।

चारआलीबाट ताप्लेजुङ जाने आउने तथा स्थानीय रुटका गाडीका चालकलाई चारआलीमा सम्मान गरिएको अभियानमा सहभागी गोपाल अधिकारीले बताए ।
सडक कविता प्रतियोगितामा विवेक निशानी प्रथम, भिजन गुरागाई द्वितीय तथा प्रकृति शर्मा र गृष्मावेश प्रसाईं तृतीय भएका थिए । ३२ जनाले सहभागिता जनाएको कविता प्रतियोगितामा उत्कृष्टलाई नगद पुरस्कार तथा प्रमाणपत्र र सहभागीलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।

सञ्चारकर्मी तथा साहित्यकारहरु लक्ष्मण ढकाल, केशव भट्टराई र लीला अनमोलले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *