असोज १० गतेबाट चिया कारखाना बन्द गर्ने मजदुरको चेतावनी
Published: (Updated: )
by .विर्तामोड । चिया मजदुरले श्रम ऐनले तोके अनुसारको न्युनतम् ज्याला नपाएको भन्दै चिया बगान र कारखाना बन्द गर्ने चेतावनी दिएका छन् ।
चरणबद्ध आन्दोलनमा उत्रिएका चिया मजदुरले असोज ९ गतेसम्म पनि आफुहरुको माग पुरा नभए १० गतेबाट कारखाना बन्द गर्ने उनीहरुले घोषणा गरेका छन् । सरकारले चिया बगानमा कार्यरत मजदूरको न्युनतम् ज्याला ३८५ रुपैयाँ तोकेको छ ।
विहीवार विर्तामोडमा पत्रकार सम्मेलन गरी मजदूर सङ्गठनले न्युनतम् ज्याला कार्यान्वयनका लागि सात दिनको अल्टिमेटम दिइएको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै मजदूर नेता भूपाल सापकोटाले सरकारले तोके अनुसारको ज्याला नपाएपछि बाध्य भएर कारखाना बन्द गर्ने निष्कर्षमा पुगेको बताए ।
नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका उपाध्यक्ष सहीकुमार राईले दशैँको मुखमा पनि मजदूरको आन्दोलन नरोकिने बताए । नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले मजदूरलाई ज्याला नदिने चिया उद्योगीलाई सरकारले जेल हाल्नु पर्ने धारणा ब्यक्र गरे । उनले मजदुरमारा उद्योगी विरुद्ध अब कडारुपमा प्रस्तुत हुने चेतावनी समेत दिए ।
उनीहरुले बिहिबार नै जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएर श्रमिकहरुसंग गरेको सम्झौता लागुगर्न दबाब दिने, शुक्रबार, विभिन्न राजनीतिक दलहरुसंग चिया मजदुरको माग बारे छलफल गर्ने, असोज ७ गते चन्द्रगढीमा विरोध प्रर्दशन गर्ने र असोज ९ गतेसम्म पनि आफुहरुको माग पुरा नभएमा १० गतेबाट कारखाना बन्द गर्ने घोषणा गरेका छन् ।
गत साउन ३१ गते रनजपत्रमा प्रकाशन गरीको ज्याला दिनसमेत उद्योगीहरुले अटेर गरेर सरकारलाई चुनौति दिइरहेको मजदुर नेताहरुको भनाई छ । मजदुरको मागका विषयमा नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक संघ, नेपाल चियाबगान श्रमिक संघ र अखिल नेपाल चिया मजदुर संघ एकभएर अगाडी बढ्ने नेताहरुको भनाई छ ।
आनदोलनका कार्यक्रमहरु झापा सहित इलाम र धनकुटामा पनि एकैसाथ गर्ने अखिल नेपाल चिया मजदुर संघकी अध्यक्ष सीता सापकोटाले जानकारी दिइन् ।
Comments