Sajhamanch Archive

पत्रकार पकुवालको मेचीघाटमा दाहसंस्कार, पत्रकारहरुद्वारा अन्तिम श्रद्धाञ्जली व्यक्त

Published: in मुख्य समाचार, समाज by .

भद्रपुर । झापाली पत्रकारिता वृत्तमा सफल महिला पत्रकार माया पकुवालको ५४ वर्षको उमेरमा आज बिहान निधन भएको छ ।

भद्रपुरबाट प्रकाशन गरिने बरुण साप्ताहिकका सम्पादक पकुवालको केही वर्ष अघि मृगौलाको प्रत्यारोपण गरिएको थियो । सो पछि पनि पत्रकारितामा निरन्तर सक्रिय उनलाई एक साताअघि रुघाखोकी र निमोनिया भएपछि ओमसाई पाथीभरा हस्पिटल भद्रपुरमा उपचारार्थ भर्ना गरिएको थियो । सोही अस्पतालमा आज बिहान करिब ३ः३० बजे उनको निधन भएको परिवारले जनाएको छ ।

उनको आज दिउँसो मेचीघाट भद्रपुरमा दाहसंस्कार गरिएको छ । दाहसंस्कार अघि घाटमा पुगेका परिवार, इष्टमित्र, छरछिमेकीसहित दर्जनौं पत्रकारले उनको देहावसानमा मौनधारण गर्दै शोक व्यक्त गरेका छन् ।

संक्षिप्त श्रद्धाञ्जली सभामा पत्रकारहरुको तर्फबाट नेपाल पत्रकार महासंघ झापाका पूर्व सभापति चिन्तामणि दाहालले पकुवालले झापाली पत्रकारिता क्षेत्रमा खेलेको भूमिकाबारे धारणा राखेका थिए ।

नेकपा एमालेको संगठित सदस्य रहेकी स्वर्गीय पकुवालको पार्थिव शरीरमा एक नम्बर प्रदेश कमिटी सदस्य तथा भद्रपुरका नगरप्रमुख जीवनकुमार श्रेष्ठ, प्रदेश कमिटी सदस्य तथा पत्रकार महासंघ झापाका पूर्व सभापति माधव बिद्रोही, जिल्ला कमिटीका उपसचिव असारु राजवंशी, भद्रपुर नगर कमिटीका अध्यक्ष ब्रम्हदेव ढुंगानाले पार्टीको झण्डा ओडाएर श्रद्धाञ्जली ब्यक्त गरेका थिए ।

स्वर्गीय पकुवाल नेपाल पत्रकार महासंघ झापा, प्रेस चौतारी झापा, नारी सञ्चार गृह झापा, भद्रपुर प्रेस क्लव लगायतका संस्थामा आवद्ध थिइन् । उनका दुई छोरी र श्रीमान सञ्जय प्रधान छन् । अल्पायुमा नै श्रीमतीलाई गुमाएका सञ्जय आफैं पत्नीको दशगात्र कर्ममा जुटेका छन् ।

सक्रिय महिला माया पकुवालको अल्पायुमा भएको निधनले महिला पत्रकारिता क्षेत्रमा ठूलो क्षति भएको छ । साझामञ्च डटकम परिवार मृतक पकुवालप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *