Sajhamanch Archive

अपाङ्गता भएका बालबालिकालाई गायकको सहयोग

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

झापा । श्रम गर्न विगत ७ वर्षदेखि युरोपमा रहेका झापाली गायक तुलसी शिवाकोटीले अर्जुनधारा नगरपालिका–६ स्थित अपांग बाल शिक्षा सरोकार केन्द्रलाई आर्थिक सहयोग गरेका छन् ।

हाल स्पेनमा बसोबास गर्दै आएका गायक तुलसीले आफ्नी आमा अम्बिकादेवी शिवाकोटीमार्फत् अपांग बाल शिक्षा सरोकार केन्द्रका १२ जना बालबालिकालाई सहयोग उपलब्ध गराएका हुन् ।

एक कार्यक्रमका बीच गायक तुलसीकी आमा अम्बिकादेवीले केन्द्रका अध्यक्ष कृष्ण दुलाललाई नगद ११ हजार रुपैयाँ प्रदान गरिन् ।उनले केन्द्रमा रहेका फरक क्षमताका विद्यार्थीलाई फलफूल र मिठाइसमेत प्रदान गरेकी थिइन् ।

युरोपबाट छोराले आफूलाई पैसा पठाएर अपांग बाल शिक्षा सरोकार केन्द्रलाई हस्तान्तरण गर्न भनेपछि आफू आएको उनले सुनाइन् । ‘मानव जीवनमा सबैभन्दा ठूलो धर्म यही नै हो,’ उनले भनिन्, ‘विदेशबाट मेरो छोराले यस्ता बालबालिकाका लागि रकम पठाएकोमा म धेरै हर्षित छु ।’

झापा सुरुंगाका गायक तुलसीले आफू प्रवासमा रहेर पनि नेपालको एक परोपकारी संस्थालाई सहयोग गर्न पाउँदा आनन्दित भएको बताएका छन् । ‘म पहिलादेखि नै अपांगता भएका बालबालिकालाई सहयोग गर्न मन पराउने मान्छे हुँ,’ उनी भन्छन्, ‘नेपाल गएको बेला उनीहरुलाई भेट्ने मौका पाएको थिएँ, सहयोग गर्न मन थियो, अपांगता भएका बालबालिकाले पनि पढ्न लेख्न सक्नुपर्छ भन्ने सोचले सहयोग गरेको हुँ ।’

गायक तुलसीकी आमा अम्बिकादेवीलाई अपांग बाल शिक्षा सरोकार केन्द्रसम्म लगेर रकम हस्तान्तरण गर्ने कार्यक्रमको संयोजन हास्य गायक श्रीकृष्ण लुईंटेल ‘बोकेदाह्री’ले गरेका थिए । युरोपमा बसेर नेपाली गीतसंगीतका क्षेत्रमा अघि बढिरहेका गायक तुलसी त्यहाँका नेपालीमाझ सुपरस्टारका रुपमा परिचित छन् । ‘मेरो देश’, ‘प्यारी छोरी’, ‘म त मान्छे सिधासादा’ लगायतका उनका गीत चर्चित छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *