Sajhamanch Archive

शून्य समयमा रामचन्द्र लिम्बूः ‘पहाडका बाँदर गुरिल्ला भए, पुरुषसँग भाग्छ, महिलालाई कुट्छ’

Published: in प्रदेश तह, मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

विराटनगर । प्रदेश १ का सांसदले पहाडी जिल्लामा बाँदर नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रदेश १ प्रदेशसभाको शनिबार बसेको बैठकको शून्य समयमा बोल्दै प्रदेशसभा सदस्य रामचन्द्र लिम्बूले पहाडमा बाँदरहरु गुरिल्ला जस्तो भएको बताए । उनले बादर नियन्त्रण गर्न नसक्दा मानिसहरु नै बिस्थापित भइरहेको बताए ।

‘पहाडमा ठूलो समस्या सिर्जना भएको छ । त्यो भनेको बाँदरको आतङ्क हो । मकै लगाए मकै खान्छ, कोदो लगाए कोदो खान्छ, जुनेलो लगाए जुनेलो खान्छ, मास लगाए मास खान्छ, बोडी लगाए बोडी खान्छ, सुन्तला लगाए सुन्लता खान्छ । केही बाँकी राख्दैनन्’ सांसद लिम्बुले भने, ‘अहिले पहाडका बाँदर गुरिल्ला जस्तो हुन थाले, पुरुष देख्दा भागेजस्तो गर्छ, महिला खेद्न जाँदा त उल्टो आक्रमण गर्छ ।’

बाली खाने बाँदरले महिलालाई नटेर्ने उनले बताए । ‘मेरो छिमेकी महिलालाई पनि बाँदरले कुट्यो’ उनले भने, ‘बाँदरका कारण मानिसहरु विस्थापित भएका छन् । यसको विकल्प के हो ? बन्दुक हान्न पनि पाइँदैन होला, बाँदरको भ्यासेक्टोमी गर्ने हो कि विकल्प सोच्नुपर्‍यो ।’ बादरका कारण पहाडी जिल्लाबाट मधेश तर्फ बसाई सर्ने क्रम बढेको उनले बताए ।

शून्य समयमा बोल्ने क्रममा उनले नेपालको राष्ट्रयि झण्डाको दुरुपयोग भएको बताए । मानिसले घर र बाइकमा झण्डा राखेर दुरुपयोग गरेको उनको भनाइ छ ।

अनलाइनखबर

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *