Sajhamanch Archive

बोरामा हालेर फालिएको शवको पहिचान गर्दै प्रहरीले फेला पार्यो हत्याराहरु

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, समाज by .

बिर्तामोड । हत्या गरी बोरामा हालेर ह्युमपाइपभित्र फालेको शवको पहिचान गरी झापा प्रहरीले हत्याराहरुको समूहलाई आज बिर्तामोडमा सार्वजनिक गरेको छ । अर्जुनधारा–४ मा गतहप्ता बोराभित्र भेटिएको शव भारतीय नागरिकको भएको र उसलाई पाँचलाख रुपैयाँ तिर्न नचाहाने एक महिलाले ‘सुपारी’ दिएर हत्या गराएको प्रहरी अनुसन्धानबाट खुलेको जनाइएको छ ।

हत्या गरिएको उक्त व्यक्ति भारत गुजरातका ४० वर्षीय जपडिया नरेश कुमार बाबु भाई भएको झापा प्रहरीले जनाएको छ । भारतीय नागरिकलाई हत्या गरी बोरामा पोको पारेर नजिकैको ह्युम पाइप भित्र फालिएको अवस्थामा स्थानीयले फेला पारेका थिए ।

घटना लगत्तै इलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान थालेको थियो । अनुसन्धानका क्रममा बिर्तामोड प्रहरीले उनको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरिसकेको छ । पक्राउ पर्नेहरुमा अर्जुनधारा ७ की ३२ वर्षीया जानुकादेवी थापा, ४९ वर्षीय विजय भन्ने बृखबहादुर थापा र सुनसरी जिल्ला बराहक्षेत्र नगरपालिका १० बस्ने २५ वर्षीय सुरेश परियार रहेका छन् । अर्को एकजनाको खोजी भइरहेको छ । पक्राउ परेकाहरुलाई आज बिर्तामोडमा प्रहरीले सार्वजनिक गरेको हो ।

प्रहरीका अनुसार ५ लाखको सुपारी दिएर ती व्यक्तिको हत्या गरेको अनुसन्धानबाट खुलेको छ । सुपारी लिएर बराह क्षेत्रका परियार र अर्का एक व्यक्तिले हत्या गरेको झापाका प्रहरी उपरीक्षक विश्वमणि पोखरेलले जानकारी दिए ।

गुजरात घर भएका मृतकसँग जानुका थापाको भारतमै चिनजान भएको थियो । २०७६ सालमा कामको सिलसिलामा थापा भारत पुगेकी थिइन् । सोही चिनजानका आधारमा भारतीय नागरिक नरेशकुमार अर्जुनधारा आएका थिए । प्रहरीका अनुसार ५९ हजार भारतीय नक्कली नोटसहित पक्राउ परेका मृतक इटहरीमा तारेख धाइरहेका थिए । तारेख कै लागि उनी नेपाल आएको प्रहरीको भनाई छ ।

२०७६ सालमा मृतकले थापाको छोराछोरीका लागि खेलौना पठाएको बुझिएको छ । थापाले ती भारतीय नागरिकबाट घर निर्माणको लागि ५ लाख रुपैयाँ पनि लिएको अनुसन्धानबाट खुल्न आएको बिर्तामोडका डिएसपी रुगमबहादुर कुवरले बताए ।

घटनाबारे जानकारी दिँदै डिएसपी कुवरले मृतक असार ७ गते भारतबाट अर्जुनधारा आएको जानकारी दिए । असार ८ गतेसम्म थापा कै घर बसेका मृतक ९ गते तारेखका लागि इटहरी गएर फेरि अर्जुनधारा नै फर्किएका थिए । ९ गते राति साढे ८ बजे मृतकसहित परियार र अर्का एक व्यक्तिले सँगै मादक पदार्थ खाएको र सोही समयमा कुटपिट गरी फलामको मार्तोलले शरिरका विभिन्न भागमा हिर्काएर हत्या गरेको अनुसन्धानबाट खुल्न आएको छ । अनुसन्धानमा उच्चस्तरको प्रविधि प्रयोग गरिएको डिएसपी कुवरको भनाई छ ।

हत्या गरे वापत थापाले परियारलाई २ पटकमा २ लाख र अर्का एक व्यक्तिलाई १ लाख दिएको अनुसन्धानबाट खुलेको छ । घटनास्थलबाट एउटा मोटरसाइकल, मार्तोल, फरुवा, खुकुरी, २ थान तन्ना, डोरी, झोला, ३ थान मोवाइल र २ वटा खाली बोतल फेला परेको थियो । प्रहरीका अनुसार हत्या पछि संलग्नहरुले पुर्ने सोच बनाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *