मेची आँखा अस्पतालको रजत वर्ष समापनः दर्जनौंलाई एकैपटक सम्मान
Published:
by .बिर्तामोड । झापाको बिर्तामोडस्थित मेची आँखा अस्पताल संघले आज स्थापनाको २५औं वर्ष पूरा भएको अवसरमा विशेष कार्यक्रको आयोजना गरी रजत वर्ष समापन गरेको छ ।
अस्पताल परिसरमा आयोजना गरिएको रजत वर्ष समापन समारोहमा चारजना संस्थापकहरु र दाता संस्थाका एकजनालाई विशेष सम्मान गरिएको छ भने दर्जनौं चिकित्सक एवम् कर्मचारीहरु पनि सम्मानित भएका छन् ।
मेची आँखा अस्पताल स्थापनामा योगदान गर्ने चारजना संस्थापकहरु भरतलाल गिरी, दिनेश मित्तल, चण्डीराज पराजुली र भिमबहादुर गुरुङलाई सम्मान गरिएको हो । यस्तै अस्पतालको सहयोगी संस्था आइकेयर फाउन्डेसनका डाइरेक्टर अनिल गोर्खालीलाई पनि सम्मान गरिएको छ । ती सम्मान पत्रहरु कार्यक्रमका विशेष अतिथि बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले हस्तान्तरण गरेका हुन् ।
रजत जयन्ती समापन समारोहमा अस्पतालका सेवा निवृत ३ जना कर्मचारीहरु सञ्जयकुमार सिंह, मिमलाल राजवंशी, सुरजकुमार रौनियार सम्मानित भए । यस्तै कार्यरत कर्मचारीहरुमध्ये उत्कृष्ट ठहरिएका ज्योति खड्का, प्रभात तामाङ, बिनिता लौहा र नेत्रा अधिकारीलाई सम्मानपत्र प्रदान गरियो ।
संघले स्थापनाको दिनदेखि आजसम्म सेवारत मोहन अधिकारी र मेडिकल डाइरेक्टर पुरूषोत्तम जोशी, कविता कार्कीसहित १९ वटा विभागबाट १९ जनालाई कदरपत्र प्रदान गरी हौसला भरेको छ । २५ वर्ष अगाडि लायन्स क्लबसँगको सहकार्यमा आँखा शिविर आयोजना गरेर सेवा प्रारम्भ गरेको मेची आँखा अस्पतालको बेग्लै इतिहास छ । मेची आई केयर हँुदै हाल मेची आँखा अस्पताल बनेको हो ।
मेची आँखा अस्पताल संघका अध्यक्ष जलकुमार गुरुङको अध्यक्षतामा आयोजित रजत वर्ष समापन कार्यक्रममा आमन्त्रितहरुलाई उपाध्यक्ष सुरेश वंशलले शाब्दिक स्वागत गरेका थिए ।
उनले मेची आँखा अस्पतालले हालसम्ममा २९ लाख १४ हजार ४३० वटा अप्रेशन गरेको जनाउँदै तीमध्ये तीन लाख ३४ हजार ७०८ वटा सर्जिकल अप्रेशन सफलता पूर्वक सम्पन्न गरेको बताए । अस्पतालले विभिन्न स्थानमा प्राथमिक उपचार केन्द्र पनि सञ्चालन गर्दै आएको छ ।
रजत जयन्ती समारोहको औचित्यमाथि प्रकाश पार्दै मेडिकल डाइरेक्टर डा. पुरूषोत्तम जोशीले सन् २०३० भित्र पूरा गरिसक्नुपर्ने दिगो विकास लक्ष्यका मुख्य ४ लक्ष्यको प्राप्तिका लागि आफूहरु सेवारत रहेको जनाए । अस्पतालले झापा, पाँचथर र उदयपुरमा विभिन्न परियोजना सञ्चालन गरेको जनाउँदै डा. जोशीले सामाजिक उत्तरदायित्व अन्तरगत ३२ हजार जनाको पूर्ण निःशुल्क शल्यक्रिया गरेको बताए । हाल अस्पतालमा १९४ जना विभिन्न विभागमा कर्मचारीहरु कार्यरत रहेको र कर्मचारी बाहेक १० हजार जनालाई आँखा उपचार सम्बन्धी तालिम प्रदान गरिएको उनको भनाई छ ।
अस्पतालको तर्फबाट हालसम्म १ हजार १६५ वटा आँखा शिविर सञ्चालन गरिएको, शिविरबाट २ लाख २५ हजारभन्दा धेरै शल्यक्रिया गरिएको उनले जनाए । शिविरबाट २६ लाख जनाले सेवा लिएको र ८ हजार जनालाई निःशुल्क चश्मा वितरण गरिएको अस्पतालका मेडिकल डाईरेक्टर जोशीले जानकारी दिए ।
अस्पताल संघका सचिव गणेश पोखरेलले सञ्चालन गरेको समारोहमा राजनीतिक तथा सामाजिक संघ–संस्थाका प्रतिनिधिहरुले आ–आफ्ना धारणा राखेका थिए ।
Comments