सम्वादबाट निकास खोज्न प्रतिष्ठानको आग्रह
Published:
by .झापा । राजवंशी विकास प्रतिष्ठानले आन्तरिक समस्यालाई विकराल नबनाई वार्ता र सम्वादका माध्यमबाट सहमति र सद्भाव कायम गर्न आव्हान गरेको छ ।
राजवंशी समाज विकास समितिको छैटौं केन्द्रीय महाधिवेशनका क्रममा उत्पन्न विवाद बढ्दै गएपछि प्रतिष्ठानले विवादलाई नचर्काउन आग्रह गरेको हो । प्रतिष्ठानले शनिबार विज्ञप्ति जारी गरी नेतृत्व लिने होडबाजीमा समग्र जातिको साझा संस्था रासविसको अस्तित्व माथि खेलवाड गर्न पाइँदैन भनेको छ ।
रासविसको केन्द्रीय महाधिवेशनको वैधानिकताका सम्बन्धमा जिल्ला प्रशासन कार्यालय झापामा मुद्धा विचाराधिन रहेकाले त्यस निर्णयको प्रतीक्षा गर्न र आउने आधिकारिक निर्णयलाई आत्मसात् गर्न समेत विज्ञप्तीमा आग्रह गरिएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘यति लामो ऐतिहासिक संस्थाको गरिमामा केही दिनदेखि आँच पुग्नेगरी भइरहेको क्रियाकलापले हामीलाई चिन्तित तुल्याएको छ । छैटौं केन्द्रीय महाधिवेशनबाट उत्पन्न विवादले रासविसको गरिमामा ठेस पुग्नुका साथै हामी राजवंशीहरुको एकता र मेलमिलापमा असर पुग्ने देखेर हामी यो प्रेस विज्ञप्ति निकाल्न बाध्य भएका छौं ।’
उक्त विज्ञप्तीमा प्रतिष्ठानका अध्यक्ष सुरेन राजवंशी, उपाध्यक्ष रुपा राजवंशी, सचिव इन्द्रसिंह राजवंशी र कोषाध्यक्ष झलकसिंह राजवंशीले हस्ताक्षर गरेका छन् ।
Comments