Sajhamanch Archive

दुर्गापुर महायज्ञबाट २१ लाख ४९ हजार रुपैयाँ संकलन, १५ लाख अक्षयकोषमा

Published: (Updated: ) in लोकप्रिय, समाज by .

कनकाई । झापाको कनकाई १ दुर्गापुरमा भौतिक संरचना निर्माण साथै अक्षयकोष वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको श्रीमद देवीभागवत महापुराण नवाह ज्ञान महायज्ञबाट लक्ष्यभन्दा बढी आर्थिक संकलन भएको छ ।

श्री नवदुर्गा भगवती (मनसादेवी) मन्दिर व्यवस्थापन समितिको आयोजनामा चैत ८ देखि १६ गतेसम्म संचालन गरिएको महायज्ञको आयव्यय विवरण सार्वजनिक गर्दै आयोजक समितिले महायज्ञबाट अनुमान गरिएकोभन्दा बढी आर्थिक सहयोग संकलन गर्न सफल भएको जनाएको हो ।

लक्ष्य प्राप्तिका लागि अत्यन्तै न्यून खर्चमा पारदर्शिताका साथ कार्य सम्पन्न गरेको समितिले महायज्ञ समापन भए लगत्तै मंगलबार पत्रकार भेटघाट कार्यक्रम मार्फत आयव्यय विवरण सार्वजनिक गरेको हो ।

महायज्ञबाट कुल आम्दानी २१ लाख ४९ हजार ७३ रुपैयाँ र खर्चतर्फ ७ लाख ६५ हजार ९२५ भएको विवरण सार्वजनिक गरिएको छ । त्यस्तै ९ लाख ३५ हजार ८५० बैंकमा जम्मा गरिएको र १५ हजार २० रुपैयाँ समितिमा रहेको मूल आयोजक समितिका आर्थिक संयोजक मनोजकुमार पोखरेलले जानकारी दिए । आर्थिक संयोजक पोखरेलका अनुसार दाताहरूले प्रतिवद्धता गरेको ४ लाख ३२ हजार २७८ रुपैयाँ प्राप्त हुन बाँकी छ ।

आर्थिक कारणले दैनिक मन्दिर सञ्चालन गर्न कठिनाई भोग्दै आएको मन्दिर समितिले अनुष्ठान आयोजना गरेर अक्षयकोष वृद्धि गर्ने उद्देश्य राखेको सो महाज्ञबाट संकलित रकमले अक्षयकोष वृद्धि गरी १५ लाख पुर्याइएको छ । यसअघि अक्षय कोषमा ६ लाख ५५ हजार रुपैयाँ थियो । अनुष्ठानबाट अक्षयकोषमा ६ लाख थप गर्ने लक्ष्य रहेको थियो तर धार्मिक, सामाजिक व्यक्तित्वहरुको सद्भाव र सहयोगका कारण ९ लाख रुपैयाँ वृद्धि गर्न सकिएको अनुष्ठान आयोजक मूल समिति संयोजक सरला दाहाल पोखरेलले बताइन् ।

मन्दिर समितिले सामुदायिक भवन निर्माणको योजना पनि अघि सारेको छ । यसअघि मन्दिर सञ्चालनार्थ दक्षिणतर्फ व्यवसायिक भवन सटर बनाउन स्थानीय समाजसेवीहरू गणेशप्रसाद पोखरेल, कुमुदिनी पोखरेल र मोहन पोखरेलबाट एक–एक वटा सटर निर्माण गरिदिने घोषणा भएको थियो । तर सडक क्षेत्रमा पर्ने आशंकामले तत्काल समितिले निर्माण कार्य अघि बढाउन सकेको थिएन ।

हाल मन्दिरको उत्तरतर्फ सामुदायिक भवन निर्माण गर्ने योजना बनेपछि दवंगत भइसकेका दाता गणेशप्रसादका छोरा राजेन्द्रकुमार पोखरेल, कुमुदिनीका छोरा कुमारमणि पोखरेल र दाता मोहनप्रसाद पोखरेलले दुई दुई लाख रुपैयाँ उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् ।

मन्दिर व्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद निरौलाले भने ‘अब बनाइने सामुदायिक भवन दुई तलाको हुने र माथिल्लो तलामा ६ कोठा, भुइँतलामा हल निर्माण गरिने योजना रहेको छ ।’ जसका लागि ८८ लाख रुपैयाँ लाग्ने र भवन निर्माणका लागि स्थानीय समाजसेवी कुमारमणि पोखरेलको संयोजकत्वमा भवन निर्माण समितिसमेत गठन भइसकेको मन्दिर समिति अध्यक्ष निरौलाले बताए ।

महायज्ञ मूल आयोजक समिति संयोजक सरला दाहाल पोखरेलको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सञ्चालन आयोजक समितिका सचिव रामप्रसाद निरौलाले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *