विषादी खाद्यवस्तु रोक्ने प्रतिवद्धता
Published:
by .मेचीनगर । पूर्वीनाकाबाट भित्रिने विषादीयुक्त खाद्यवस्तुको आयातमा कडाइ गर्न र त्यसको नियन्त्रणमा चारवटा निकायले प्रतिवद्धता जनाएका छन् ।
चाडपर्वको वहनामा भित्रिने यस्ता वस्तुले मानव जीवनमा असर पार्ने भन्र्दै मेचीनगर नगरपालिकाले आइतबार सम्बन्धित पक्षसँग छलफल कार्यक्रम आयोजना गरेको थियो ।
मेची भन्सार कार्यालयको वैठक कक्षमा मेचीनगर नगरपालिका, मेची भन्सार कार्यालय काँकरभिट्टा, खाद्य प्रयोगशाला काँकरभिट्टा तथा क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाबीच भएको छलफलमा सवै निकायले यस्ता वस्तुको आयातमा कडाई गर्दै नियन्त्रणमा सक्रियपुर्वक लाग्ने प्रतिवद्धता जनाएका हुन् ।
मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्यले खुल्ला सिमानाका कारण पनि पूर्वी नाका निक्कै सम्वेदनशील भएकाले यस्ता वस्तु सजिलै भित्रिने हुदा त्यसतर्फ सम्बन्धित निकाय निक्कै चनाखो हुनुपर्नेमा जोड दिनुभयो । मेचीनगरलाई विषादीमुक्त नगर बनाउने नगरपालिकाको योजना रहेको र यसमा आम नगरवासीलाई साथ दिन समेत उहाँले आग्रह गर्नुभयो ।
उपप्रमुख मिना पोखरेल उप्रेती खानेकुरामा विषादी मिसाएकै कारण अहिले मेचीनगरमै दर्जनभन्दा बढी मानिस विभिन्न रोगको शिकार भएको बताउनुभयो । उहाँले बेलैमा अगर्यानिक खानेकुरातर्फ लाग्न सवैलाई आग्रह गर्नुभयो ।
मेची भन्सार कार्यालय काँकरभिट्टाका प्रमुख भन्सार अधिकृत टेकबहादुर अर्यालले यस्ता वस्तुको आयात रोक्न यात्रु शाखादेखि अन्य स्थानमा समेत कर्मचारी परिचालन गरिएको जानकारी दिनुभयो । विषादीयुक्त खाद्यवस्तुको नियन्त्रणमा स्थानीय प्रशासन, नगरवासीलगायत सरोकार निकाय एक ढिक्का भएर लाग्न समेत उनले जोड दिनुभयो ।
अन्य सहभागीहरुले चाडपर्व नजिकिँएसँगै मासु तथा मासुजन्य लगायत अन्य घरायशी वस्तुको आयातको चाप बढ्ने र धेरै अखाद्य वस्तु भित्रिने भएकाले त्यस्ता वस्तुको क्वारेन्टाइन जाँचमा उच्च सतर्कता अप्नाएर उपभोक्ता माझ स्वास्थ्यकर खाद्य वस्तु उपलब्ध हुनुपर्ने बताएका थिए । क्वारेन्टाइन अधिकारीहरुले क्वारेन्टाइन चेकपोष्टहरु र कार्यालयबाट उच्च सतर्कतासाथ क्वारेन्टाइन जाँच भइरहेको जानकार िगराएका थिए ।
कार्यक्रममा मेचीनगर नगरपालिका ४ र ६ नम्बर वडाका वडाध्यक्ष नवीन वराल, ललितबहादु तामाङ, खाद्य विश्लेषक मेची भन्सार कार्यालय काँकरभिट्टाका अधिकृतहरु मनोज विश्वकर्मा, रमेश खतिवडा, किरण शर्मा कम्प्युटर अधिकृत किरण अर्याल खाद्य प्रयोगशाला काँकरभिट्टाका खाद्य निरीक्षक दिनेश ढुंगाना तथा क्षेत्रीय प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका क्वारेन्टाइन अधिकृत सुरेशकुमार साह व्यवसायी भन्सार एजेण्टलगायतको सहभागिता रहेको मेचीनगर नगरपालिकाका प्रेस संयोजक लक्ष्मी उप्रेतीले जानकारी दिए ।
Comments