तलब नपाएपछि गाउँपालिकामा तालाबन्दी
Published: (Updated: )
by .लहान । सिरहाको नरहा गाउँपालिकामा कार्यरत कर्मचारीहरूले चालु आवको साउनदेखि दशैंसम्म गरी तीन महिनाको तलव नपाएपछि आइतबार दिउँसो गाउँपालिका कार्यालयमा तालाबन्दी गरेका छन्।
दशैं जस्तो चाडमा पेश्की रकम मात्र होइन, तीन महिनाको तलव समेत नपाएपछि तालाबन्दी गरिएको नरहा गाउँपालिका ४ बर्छवास्थित स्वास्थ्य चौकीका इञ्चार्ज सिअहेव बिन्देश्वर यादवले बताए। ‘गाउँपालिकालाई धेरै गुहार्याैं। कर्मचारीले पाउनुपर्ने तलवको विषयलाई बेवास्ता मात्र गरिएन। दशैं समेत त्यसै बित्यो’ उनले गुनासो गरे। नरहा गाउँपालिकाअन्तर्गत चार वटा स्वास्थ्य केन्द्रमा कार्यरत स्वास्थ्य सहायक, सिअहेव, अहेव, अनमि र कार्यालय सहयोगी गरी ३० जना, कृषि, पशुतर्फका छजना तथा गाउँपालिकाका पाँच वडामा कार्यरत सचिवसहित अधिकृतसम्मका गरी ११७ जनाले तलव नपाएको कृषि प्राविधिक सहायक धनिकलाल साहले बताए।
गाउँसभा नहुँदा अप्ठ्यारो
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भवेशकुमार झाले पछिल्लो असार ३१ भित्र भइसक्नु पर्ने दोस्रो गाउँसभा कार्यपालिकाको खिचातानीले नहुँदा कर्मचारीलाई तलव खुवाउन समेत अप्ठ्यारो भएको बताए। ‘गाउँसभाले गरेको निर्णय अनुसार खर्च गर्ने शीर्षक र रकमको अख्तियारी कोष तथा लेखा नियन्त्रक कार्यालयमा पठाएपछि मात्र रकम निकासा हुने व्यवस्था छ’ प्रमुख प्रशासकीय अधिकृत झाले भने, ‘तर गाउँसभा नै गर्न नसक्दा दशैंमा समेत कर्मचारीलाई तलव खुवाउन सकिएन।’
गाउँसभा नहुँदा कर्मचारीको तलव मात्र होइन, दैनिक कार्यालय संचालन गर्न पनि कठिनाई भएपछि पछिल्लो असोज २४ गते १३ सदस्यीय गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाको नाममा रहेको विभिन्न ठाउँको बक्यौता रकम भुक्तानी गर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत झाले बताए।
कार्यपालिकाको बैठकले आर्थिक वर्ष २०७५/०७६ को गाउँसभा नहुँदासम्म पछि योजना तथा कार्यक्रममा समायोजन हुने गरी प्रमुख प्रशासकीय अधिकृत तथा लेखापालको नाममा अख्तियारी दिई बक्यौता रकम भुक्तानी दिने निर्णय गरेको गाउँपालिका अध्यक्ष रामशरण यादवले बताए। कार्यपालिकाको उक्त निर्णय अनुसार इन्धनको भुक्तानीदेखि दैनिक कार्यालय संचालन, जनप्रतिनिधि, कर्मचारीको तलव भत्तासहित विभिन्न १५ शीर्षकको रकम भुक्तानी कोलेनिकाले खाता फुकुवा गरेपछि सुरु गरिने गाउँपालिका अध्यक्ष यादवले बताए।
नरहा गाउँपालिकामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित तीनवटा वडामा नेपाल कम्युनिष्ट पार्टी र बाँकी दुई वडामा नेपाली कांग्रेस र राजपाले एक/एक वडमा जितेका छन्।
Comments