श्रीलंकाः पूर्वराष्ट्रपति राजापाक्षे नयाँ प्रधानमन्त्री नियुक्त
Published:
by .कोलोम्बो । श्रीलंकामा सत्ता समिकरण अचानक परिवर्तन भएको छ।
शुक्रबार राष्ट्रपति मैत्रीपाला सिरिसेनाको पार्टी श्रीलंका फ्रिडम एलाइन्सले प्रधानमन्त्री रनिल विक्रमसिंगेको सरकारबाट बाहिरिने निर्णय गरेपछि दक्षिण एसियाली टापु राष्ट्रको राजनीति बदलिएको हो ।
युनाइटेड नेशनल पार्टीका नेता रनिल सन् २०१५ देखि श्रीलंकाका प्रधानमन्त्री थिए। पार्टीको उक्त निर्णयको केहीबेरमै राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिललाई बर्खास्त गरे।
रनिललाई बर्खास्त गरेको केही समयमै सिरिसेनाले पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेले नयाँ प्रधानमन्त्रीको सपथ खुवाए। श्रीलंकाली सञ्चारमाध्यमका अनुसार यी दुई पार्टीबीच गत फेब्रुअरीमा भएको स्थानीय चुनाव यता विवाद बढ्दै गएको थियो।
आर्थिक नीति र दैनिक प्रशासनिक काममा पनि दुई दल टाढिँदै गएका थिए। उक्त चुनावमा राजापाक्षेको पार्टीले जित हात पारेको थियो ।
सन् २००५ देखि २००१५ सम्म श्रीलंकाका राष्ट्रपति भएका राजापाक्षे सन् २००४ मा एक वर्षका लागि पहिलो पटक प्रधानमन्त्री बनेका थिए। सन् २०१५ को चुनावमा पनि राजापाक्षे राष्ट्रपतिका उम्मेदवार थिए। उनकै मन्त्रिमण्डलका सदस्य रहेका सिरिसेनाले चुनावको केही दिनअघि मन्त्रीबाट राजीनामा दिए र चुनावमा राजापाक्षेलाई हराए।
तीन वर्षपछि उनै सिरिसेनाले राजापाक्षेलाई प्रधानमन्त्री नियुक्त गरेका छन्।
– समाचार एजेन्सीहरु
Comments