नवजात शिशुको संरक्षण प्रदान
Published:
by .झापा । जिल्ला बाल कल्याण समिति झापाले एक महिनाको शिशु छोरी खुशी कार्कीलाई एसओएस बालग्राम इटहरी सुनसरीलाई जिम्मा लगाएको छ ।
जिल्ला बाल कल्याण समिति झापाका अध्यक्ष प्रमुख जिल्ला अधिकारी जनकराज दाहालको अध्यक्षतामा मंगलबार बसेको बैठकले एसओएस बालग्राम इटहरीलाई सामाजिक सुरक्षा सहितको जिम्मेवारीका साथ शिशुलाई जिम्मा लगाएको हो । माइती घर दमक बताउने संगिता दर्जीले २०७५ साल असोज १९ गते जन्म दिएकी छोरी खुशीका पिता प्रेम कार्की वेपत्ता भई हिडेको र आमा संगिता पनि मादक पदार्थ सेवन गरी अचेत अवस्थामा रहने गरेकाले नवजात शिशु विर्तामोड–५ मा वेवारिसे अवस्थामा पाइकोले प्रहरीले निज बच्चाको उद्धार गरी मेची अञ्चल अस्पतालमा सुरक्षार्थ राखेको थियो ।
बैठकको निर्णयपछि जिल्ला प्रशासन कार्यालयले जिल्ला बाल कल्याण समितिको निर्णय अनुसार बच्चा एसओएस बालग्राम इटहरीलाई पत्रसहित जिम्मा लगाएको सहायक प्रजिअ कृष्णचन्द्र पौडेलले जानकारी दिनुभयो । एसओएस बालग्रामका निर्देशक देवचरण चौधरी र प्रिन्सिपल शान्तिराम तिम्सिनासहितको टोलीलाई प्रहरीको उपस्थितिमा अञ्चल अस्पतालबाट नवजात शिशुलाई जिम्मा लगाइएको थियो । निज बच्चा खुशीको भद्रपुर वडा नम्बर ८ को वडा कार्यालयबाट जन्मदर्तासमेत गरी पठाइएको सहायक प्रजिअ पौडेलले बताउनु भयो ।
बैठकमा सहायक प्रजिअ पौडेल, झापाका प्रहरी प्रमुख भीमप्रसाद ढकाल, जिल्ला न्यायाधिवक्ता राजेन्द्र भट्टराईलगायतका कार्यालय प्रमुख तथा समितिका सदस्यहरुको उपस्थिति रहेको थियो ।
Comments