Sajhamanch Archive

काँकरभिट्टा गोल्डकपको आय व्यय सार्वजनिक, सात लाख बढी घाटा

Published: (Updated: ) in खेलकुद by .

काँकरभिट्टा । दाताले बोलेको रकम उपलब्ध नगराउँदा मेची नेत्रालय काँकरभिट्टा गोल्डकप प्रतियोगिताको तेस्रो संस्करणमा आयोजक काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर मेचीनगर—६ ले सातलाख रुपैयाँ भन्दा बढी घाटा व्यहोर्नु परेको छ ।

सेन्टरले प्रतियोगिताको आइतबार पत्रकार सम्मेलन मार्फत आय—व्याय सार्वजनिक गरेको छ । गएको मंसिर ६ देखि १५ गतेसम्म काँकरभिट्टा माविको खेलमैदानमा प्रतियोगिता सम्पन्न भएको थियो ।
अध्यक्ष मिनबहादुर वस्नेतले आम्दानी तर्फ ४१ लाख ८५ हजार १ सय रुपैयाँ तथा खर्चतर्फ ४९ लाख ३६ हजार १ सय ८० रुपैयाँसहित ७ लाख ५१ हजार ८० रुपैयाँ घाटा व्यहोर्नु परेको पत्रकार सम्मेलन मार्फत आय—व्याय सार्वजनिक गरेका थिए । दाताहरुले बोलेको रकम नदिँदा आयोजकले यति ठुलो आर्थिक व्ययभार व्यहोर्नु परेको उनले बताए ।

विभिन्न संघ संस्था र व्यक्तिसहित ६० जना र गेट टिकट संकलनबाट ४१ लाख ८५ हजार १ सय रुपैयाँ आम्दानी भएको पत्रकार सम्मेलनमा वितरीत विज्ञप्तीमा उल्लेख छ । उता मैदान मर्मत सम्भार तथा स्टेज कम्पाउण्ड, टिम व्यवस्थापन, रेफ्री, आयोजक, पुरस्कार, प्रचार प्रसार, साउण्ड सिस्टम, मेडिकल, ट्रफी , मेडल, मायाको चिनो, व्याज, खेलकुद सामग्री, सुरक्षा गार्ड, आय—व्याय सार्वजनिक तथा विविध खर्चगरी १२ वटा शीर्षकमा ४९ लाख ३६ हजार १ सय ८० रुपैयाँ खर्च भएको छ । सवैभन्दा बढी टिम व्यवस्थापनमा १८ लाख १७ हजार १ सय ८० रुपैयाँ र १४ लाख ७८ हजार रुपैयाँ पुरस्कारतर्फ खर्च भएको छ ।

कार्यक्रममा मेची नेत्रालयका प्रमुख डाक्टर शरदचन्द्रप्रकाश राई, सेन्टरका सल्लाहकार संयोजक गंगालाल गुरुङ, खेलकुद विकास समिति झापाका अध्यक्ष शंकर थापा, झापा जिल्ला फुटबल संघका महासचिव शेरबहादुर बस्नेतलगायतले पत्रकारहरुको जिज्ञशाको जवाफ दिएका थिए । सेन्टरका अध्यक्ष मिनबहादुर बस्नेतको सभापतित्वमा भएको कार्यक्रममा प्रतियोगिताको चौथो संस्करणका विषयमा समेत चर्चा गरिएको थियो । कार्यक्रमको सञ्चालन अशोक राईले गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *