मन्त्रालयमै आत्मघाती बम पड्काउँने पूर्व माओवादी लडाकुको चेतावनी
Published:
by .काठमाडौं । बर्हिगमित जनमुक्ति सेना नेपालका केन्द्रीय सदस्य तथा मंसिर ५ गते गृहमन्त्रालयमा विष सेवन गरेका कुलप्रसाद भट्टराई (कुसुम)ले आमरण अनशन सुरु गर्ने भएका छन् ।
रिपोर्टर्स क्लब नेपालमा बुधबार पत्रकार सम्मेलन गरेर कुसुमले आफ्ना मागहरुको बारेमा सरकार बेखबर बनेको बताउँदै गणतन्त्र सेनानीसहितको घाईते अपाङगता राजपत्रमा प्रकाशित गरि प्रदान गर्नुपर्ने, जनयुद्धका घाईतेहरुलाई समय सान्दर्भिक सेवासुविधा प्रदान गर्नुपर्ने, घाईतेहरुको पुनः अवलोकन प्रतिशत निर्धारण खारेज गर्नुपर्ने, जनयुद्ध र जनआन्दोलनका घाईतेहरुलाई तत्काल औषधी उपचार खर्च प्रदान गर्नुपर्ने, घाईतेहरुको परिवार तथा बालबच्चाहरुको शिक्षा, स्वाथ्य र रोजगारको व्यबस्था गर्नुपर्ने लगायतका मागहरु अघि सारेर राजधानीको शान्तिवाटिकामा आमरण अनसन बस्ने जनाएका हुन् ।
‘लोकतन्त्र र गणतन्त्र ल्याउनमा हामीजस्ता हजारौं युवाहरुले पु¥याएको योगदानलाई वर्तमान सरकार र तात्कालिन माओवादीका नेता तथा कमाण्डरहरुले अवमुल्यन गरेका छन्’, उनले भने, ‘हामीले लडेर ल्याएको परिर्वतनको अपनत्व हामीले गर्न पाउँदैनौं, हामीले गोली र रगतसँग सोटेको गणतन्त्रमा अपमानको जीवन जिउनु परेको छ, हजारौं शहिदहरुको रगतसँग साटेको गणतन्त्रको रातो कार्पेटमा उनीहरु हिड्ने हामीलाई वेवारिसे ढंगले सडकमा छोडिदिने ? यो कसरी भयो ?’
कम्युनिष्टहरुले सरकार चलाएको बेलामा पनि जनयुद्ध लडेकाहरुले अधिकार नपाउनु दुःखद भएको बताए । युद्धमा मुक्ति या मृत्यु भनेर लडेको बताउँदै उनले गृहमन्त्रीले समेत अपहेलना गरेपछि बाँच्नुको अर्थ नदेखेर मर्छु भनेर विष खाएको उल्लेख गरे । ‘यो पटक त बाँचियो अब तत्काल हाम्रा मागहरु सम्बोधन नभए मन्त्रालयमै पुगेर आत्मघाती बनेर पड्किनेछु’ भट्टराईले चेतावनी दिए, ‘आफूपनि मर्नेछु, अरु मन्त्री र पूर्व कमाण्डरलाई समेत मार्नेछु ।’
कुसुमले आफूलाई ज्यान मार्ने धम्की आएको भन्दै मानव अधिकारकर्मी र पत्रकारसँग जीवन रक्षाको लागि आवाज उठाईदिन आग्रह गरे ।
Comments