वाटर फाउण्टेन पार्कको शिलान्यास
Published: (Updated: )
by .मेचीनगर । २१ लाख रुपैयाँ बढी लागतमा झापाको मेचीनगर—६ काँकरभिट्टा बस टर्मिनल परिसरमा वसपार्क सौन्दर्यकरण अन्तर्गत निर्माण हुन लागेको वाटर फाउण्टेन पार्कको बुधबार शिलान्यास भएको छ ।
काँकरभिट्टा बस पार्क सौन्दर्य तथा वाटर फाउण्टेन पार्क निर्माण उपभोक्ता समितिले आयोजना गरेको शिलान्यास कार्यक्रममा मेचीनगर—६ का वडाध्यक्ष ललितबहादुर तामाङले शिलान्यास गरेका थिए ।
मेचीनगर—६ नम्बर वडाको १५ लाख काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको ४ लाख ५० हजार तथा जनसहभागिताबाट २ लाख १६ हजार रुपैयाँको आर्थिक सहयोगमा वाटर फाउण्टेन पार्क निर्माण हुने उपभोक्ता समितिका सचिव रविन भट्टराईले जानकारी दिए ।
आगामी दुई महिनाभित्र उपभोक्ता समिति मार्फत उक्त कार्य सम्पन्न हुने छ । पार्कमा पानीका फोहोरा, बगैचा तथा लाइटिङ्गको व्यवस्था गरिने छ । उक्त कार्य सम्पन्न गर्न राजु कार्कीको अध्यक्षतामा नौ सदस्यीय काँकरभिट्टा वस पार्क सौन्दर्य तथा वाटर फाउण्टेन पार्क निर्माण उपभोक्ता समिति गठन गरिएको छ । समितिले निर्धारित समयमै निर्माण कार्य सम्पन्न हुने जनाएको छ ।
शिलान्यास कार्यक्रममा विभिन्न राजनीति दलका प्रमुख प्रतिनिधि, सुरक्षा निकायका उच्च अधिकारीहरु, जनप्रतिनिधिहरु,काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका पदाधिकारी र कर्मचारीहरुलगायतको उपस्थिती रहेको थियो ।
Comments