Sajhamanch Archive

जुडो आधारभूत विद्यालयका विद्यार्थी र वृद्धवृद्धालाई न्यानो कपडा वितरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

टाघनडुब्ब । झापा गाउँपालिका–२ स्थित जुडो आधारभूत विद्यालयका विद्यार्थी र वृद्धवृद्धालाई आइतबार जाडोका न्यानो कपडा वितरण गरिएको छ ।

रुद्र–गौरी, श्री–अम्बिका ओली प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको प्रमुख आतिथ्यतामा विद्यालय परिसरमा सो कार्यक्रम सम्पन्न भएको हो । विद्यालय व्यवस्थापन समितिका सल्लाहकार सदस्य रामबहादुर खड्काको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रतिष्ठानकी सदस्य शारदा ओलीले विद्यार्थीलाई स्वेटर तथा वृद्धवृद्धालाई ज्याकेट, ब्ल्याङ्केट र कम्बल वितरण गरेकी हुन् ।

त्यस्तै, विदूर अङ्ग्रेजी विद्यालयकी प्रिन्सिपल मनीदेवी भट्टराईले सो विद्यालयमा अध्ययरत् विद्यार्थीलाई कापी, पेन्सिललगायत शैक्षिक सामग्री प्रदान गरेकी थिइन् ।

सो अवसरमा प्रमुख अतिथि गंगाप्रसाद ओली, विशेष अतिथि शारदा ओली, एमरल्ड एकाडेमीका संस्थापक प्रिन्सिपल तथा जुडो संघ झापाका अध्यक्ष प्रा.डा.पृथ्वीविक्रम राई, झापा गाउँपालिका वडा नम्बर २ का अध्यक्ष नेत्र खड्कालगायतले बोलेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य एवँ जुडो संघ झापाका सचिव गंगाबहादुर खड्काले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन प्रधानाध्यापक गोपालप्रसाद गणेशले गरेका थिए ।

वि.सं. २०६७ सालमा स्थापना भई टिनको छाप्रोबाट पठन पाठन सुरु भएको सो विद्यालय आ.व.२०७३÷०७४ मा २÷२ कोठाको २ वटा पक्की भवनमा परिणत भएको छ । पूर्व पश्चिम लोकमार्गको कन्काई नगरबाट दक्षिणतर्फ करिब २५ किलोमिटरको दूरीमा अवस्थित सो विद्यालयमा हाल बाल कक्षादेखि कक्षा ४ सम्म पढाई हुँदै आएको छ । मल्टि ग्रेड पद्धतिबाट अध्ययन गराइँदै आइएको उक्त विद्यालयमा अहिले १ सय ९ जना विद्यार्थी पढ्दै आएकामध्ये ५६ जना सन्थाल समुदायका छन् । यसैबीच, सोही अवसर पारेर उक्त विद्यालय परिसरमा रुद्राक्ष र रक्तचन्दनका विरुवा रोपिएको छ भने मृत्युञ्जय महादेवको मन्दिरको शिलान्याससहित पूजा पाठ समेत गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *