सरकारी वकिलहरुको राष्ट्रिय भेला काठमाण्डौमा हुने
Published: (Updated: )
by .भद्रपुर । भदौ १ गतेबाट कार्यान्वयनमा आएको अपराध संहितालाई बस्तुनिष्ठ र प्रभावकारी कार्यान्वयन गर्ने उद्देश्यका साथ सरकारी वकिलहरूको राष्ट्रिय भेला पौष ८ गतेबाट काठमाण्डौमा सम्पन्न हुने भएको छ ।
झापाका जिल्ला न्यायाधिवक्ता केशवप्रसाद पन्तले आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसित अन्तरक्रिया गर्दै पुरानो मुलुकी ऐन विस्थापित गरी कार्यान्वयनमा आएको अपराध संहिताको कानुनी प्रावधानका कतिपय अस्पष्टता हटाउन भेला सफल हुने जानकारी दिएका हुन् ।
पन्तका अनुसार सो भेलामा २५ वटा कार्यपत्र प्रस्तुत हुने छन् भने सरकारी वकिलको क्षमता अभिबृद्धि भई बस्तुनिष्ठ न्याय सम्पादनका लागि वकालत सवल बन्ने छ । सो कार्यक्रममा देशभरका ४ सय हाराहारी सरकारी वकिल सहभागी हुने छन् भने ८० जना सरोकार निकायका पर्यपेक्षक रहने छन् ।
जिल्ला न्यायाधिवक्ता पन्तले झापा जिल्लामा सरकारी वकिलले अदालतमा पेश गरेका ७० प्रतिशत बढी मुद्धामा सफलता मिलेको प्रगतिविवरण समेत सुनाए । उनका अनुसार जिल्ला प्रशासन मार्फत दायर हुने मुद्धामा भने ९५ प्रतिशत सफलता मिल्लने गरेको छ । यस आर्थिक वर्षको कार्तिकसम्ममा झापामा १ हजार ३ सय ११ वटा मुद्धा सरकारी वकिल कार्यालयले दायर गरिसकेको जनाए ।
सरकारवादी मुद्धामा साक्षी बसेवापत १ हजार दुई सय दैनिक भत्ता र आवतजावत यातायात खर्च दिइने गरेको न्यायाधिवक्ता पन्तले जनाएका छन् । यसका लागि हेलो साक्षी अभियान झापामा मंसिर २४ गतेबाट शुरू गरिएको जनाइएको छ ।
Comments