विराटनगरमा भेटिए एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल !
Published: (Updated: )
by .विराटनगर । विराटनगरमा एउटै नम्बर प्लेटका दुईवटा मोटरसाइकल भेटिएको छ । विराटनगर हिमालय रोडमा एभेन्जर मोटरसाइकल भेटिएका हो । मोटरसाइकल अनुसन्धानका लागि जिल्ला ट्राफिक कार्यालय मोरङमा राखिएको छ ।
विराटनगर ९ का दीपकराज जोशीले आफ्नो मोटरसाइकलसंग मिल्ने अर्को मोटरसाइकलमा देखेपछि प्रहरीलाई खबर गरेका थिए । जोशीले दिएको सूचनाका आधारमा विराटनगर ९ हिमालय हल अगाडिबाट उनले चलाउने जति नै नम्बर भएको अर्को को १६ प ४६१४ नम्बरको अर्को मोटरसाइकल नियन्त्रणमा लिएको हो । सडकमा पार्किङ गरिरहेको अवस्थामा मोटरसाइकल फेला परे पनि कसको हो भन्ने बारेमा पुष्टि भइनसकेको प्रहरीले जनाएको छ ।
‘मोटरसाइकल पार्किङ गरेर एक युवा पसलमा छिरेको सम्मको जानकारी पाइयो,’ मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक शिवकुमार पोखरेलले भने, ‘त्यसपछि खोजी थालिए पनि ती युवालाई फेला पार्न सकिएन ।’ उक्त मोटरसाइकलको खोजी गर्दै बिहीबार साँझ सम्म कोही पनि ट्राफिक कार्यालयमा नआएको उनले बताए । पोखरेलले दुबै मोटरसाइकलको नम्बर प्लेट मिले पनि इन्जिन र चेसिस नम्बर भने फरक–फरक रहेको जनाए ।
उनले प्रहरीलाई खवर गर्ने जोशीको भने मोटरसाइकलको सबै कागजपत्र चुस्त दुरुस्त रहेको जानकारी दिए । ‘अर्को व्यक्ति भने सम्पर्कमा नआएका कारण कहींबाट चोरी गरिएको मोटरसाइकल प्रयोग गर्ने क्रममा जोशीको मोटरसाइकल नम्बरसंग मेल खाएको हुन सक्छ,’ पोखरेलले भने, ‘हैन भने विक्री गर्ने सो रुमको कमजोरीका कारण पनि यस्तो भएको हुन सक्छ ।’
साँझ सम्ममा कोही पनि व्यक्ति मोटरसाइकलका बारेमा खोजी गर्दै प्रहरी कार्यालय सम्म नपुगेका कारण उक्त मोटरसाइकल चोरीकै हुन सक्ने आशंका गर्ने ठाउँ धेरै रहेको उनको भनाइ छ । उनले यस विषयमा आवश्यक अनुसन्धान थालिसकेको जानकारी दिए ।
Comments