मध्यपहाडी लोकमार्गमा कालोपत्रे सुरू
Published: (Updated: )
by .
भोजपुर । भोजपुरको पश्चिमी विकासको रुपमा लिईएको भोजपुर–खोटाङ जोड्ने ४२ किलोमिटरको पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे काम सुरु भएको छ।
सडकको स्तरोन्नती कामले गती लिएसँगै पहिलो प्याकेज अन्र्तगतको सेरा खोलादेखि भोजपुर सदरमुकामसम्मको साढे ७ किलोमिटर दुरीको सडकखण्डमा कालोपत्रे काम थालिएको हो। राष्ट्रिय गौरवको आयोजना अन्र्तगत दुई वर्षको समयावधिमा करिब एक अर्बको लगानीमा बन्ने उक्त राजमार्गको पहिलो र दोश्रो प्याकेजको कालोपत्रे काम ०७६ असोज मसान्तभित्र सम्पन्न हुने आयोजनाले जनाएको छ।
भोजपुर–खोटाङको सिमानामा पर्ने चखेवाभञ्जाङसम्मको उक्त सडकखण्डको कालोपत्रे कामलाई चार प्याकेजमा विभाजन गरि पहिलो प्याकेज अन्तर्गतको कालोपत्रे सुरु गरिएको निर्माण ठेकेदार कम्पनी गोल्डेन कन्सट्रक्शनले जनाएको छ। ०७४ असोज मशान्तबाट सुरु गरिएको सडक स्तरोन्नती काम ०७६ को असोज मशान्तसम्म पहिलो प्याकेज अन्र्तगत भोजपुर देउरालीदेखि सिद्देश्वर सेराखोला (दाँवा) सम्म र दोश्रो प्याकेज अन्र्तगतको सेराखोला (दाँवा) देखि गुप्तेश्वरसम्मको सडकखण्ड कालोपत्रे बनाईने लक्ष्य लिएको कन्स्ट्रक्शनका साईड ईन्चार्ज डाङी शेर्पाले बताए।
‘पहिलो प्याकेज अन्र्तगतको भौतिक संरचना र सब–बेस गर्ने कामपछि कालोपत्रे थालिएको छ।’ उनले भने, ‘सेरा खोलादेखि देउरालीसम्मको प्याकेजमा थालिएको कालोपत्रे आउँदो माघ मसान्तसम्म सक्ने र आर्थिकवर्ष ०७६/७७ मा बाँकी सम्पूर्ण प्याकेजका सडकखण्ड पनि कालोपत्रे गर्ने लक्ष्य लिएका छौँ।’ कालोपत्रेसंगै स्थानीयबासीमा पनि खुशी छाएको छ । गाउँमै कालोपत्रे काम देखिएपछि धुलो, धुँवा त परै जाओस् कच्चि सडक हुँदा जस्तो यात्रा गर्न पनि असहजता कम हुने भोजपुर नगरपालिका बोखिम दाम्सिङका स्थानीय कविराज राईले सुनाए । भने, ‘अब गाडीमा सररररर आरामले यात्रा गर्न पाईने भईयो । धुँवा र धुलो खाँदै गाडीमा जिउ नै दुख्ने गरी यात्रा गर्नुपर्ने दिन गए ।’ मध्यपहाडी लोकमार्गको सडकस्तरोन्नतीको ठेक्का पाएको कम्पनीले देउराली (सदरमुकाम), सेराखोला (दाँवा), सेतीबगर (गुप्तेश्वर) र चखेवाभञ्जाङ गरी चार प्याकेजको स्तरोन्नती कार्य ०७७ सालको असोज मशान्तसम्म गरिसक्ने लक्ष्य लिएको आयोजनाले जनाएको छ।
पहिलो प्याकेज अन्तगतको उक्त सडकखण्डमा गत चैत मशान्तसम्म सब–वेसका सबै काम सकाएर ७० प्रतिशत वित्तीय काम र ३० प्रतिशत पेभमेन्टको काम बाँकी रहको थियो। ईन्चार्ज शेर्पाका अनुसार हाल पहिलो प्याकेजको कालोपत्रे कामबाहेक बाँकी तीन प्याकेजमध्ये दोश्रो प्याकेज महावीर कन्स्ट्रक्शनले ग्राभेलीङको ठेक्का गरिरहेको, तेश्रो प्याकेजमा ८० प्रतिशत र चौँथो प्याकेजमा ५५ प्रतिशत भौतिक संरचना र पेभमेन्टको काम सम्पन्न भएको छ। पुष्पलाल मध्यपहाडी लोकमार्गको कालोपत्रे सम्पन्न भएपछि काठमाडौं आवतजावतमा दुरी छोटिने हुँदा भोजपुरलगायतका छिमेकी जिल्ला संखुवासभा, ताप्लेजुङ, धनकुटाका यात्रुलाई सहज हुनेछ।
थाहाखबरबाट ।
Comments