जब प्रहरी वैकुण्ठ गेस्ट हाउसको कोठा नं ३०१ मा पुग्यो…
Published:
by .
काठमाडौं । महाराजगञ्ज प्रहरीमा निरन्तर चोरीका उजुरी आउन थालेपछि प्रहरीले अनुसन्धान थाल्यो । चोरीविरुद्धको अभियान यसै पनि काठमाडौं परिसरले गरिरहेको थियो । यसै क्रममा प्रहरीको टोली टोखा–९ को बैकुण्ठ गेस्ट हाउसको कोठा नम्बर ३०१ मा पुग्यो ।
उक्त कोठामा तीन युवतीसहित ५ युवक थिए । उनका साथमा थियो अनेक सामान । प्रहरीले उनीहरूलाई पक्राउ गरी बयान गर्न थालेपछि चोरको गिरोह भएको पुष्टि भयो । उनीहरूको साथबाट झन्डै एक लाख नगदसहितका गरगहना, मोबाइल घडी समेत फेला परेको छ ।
उपत्यकाका विभिन्न स्थानमा घर फोरेर चोरी गर्दै आएका २१ बर्षिय चाइनिज नाम राखेका सुमन थापा मगरको समूहलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
वृत्तका डिएसपी फडिन्द्र प्रसाइका अनुसार लुकेर बसिरहेको अवस्थामा थापासहित, १८ बर्षिया सोनी लामा, २० बर्षिया निशा राई भनिने मनिषा नेम्वाङ, २२ बर्षिय सुनिल मगर, २१ बर्षिया अनिशा खाम्चा मगर, १८ बर्षिय रविन थापामगर, २३ बर्षिय डेडलक भनिने उद्धव थापा र २१ बर्षिया संजय तामाङलाई नियन्त्रणमा लिइएको छ ।
यस्तै, चोरीका सामान सस्तोमा खरिद गरि गहना बनाउने सुनचाँदी पसले सबिता सुनार र भारतको कलकत्ता घर भएका न्युरोड पाकोस्थित फोर नाइन गोल्डेन अर्नामेन्ट्समा कालीगढको काम गर्ने ५२ बर्षिय गौतम मन्नालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनीहरूले चोरी गरेका, सुनको ब्रासलेट, पोते सहितको सुनको मंगलसुत्र, सुनको बेरुवा औंठी एक–एक थान, सुनको झुम्का एक जोर पनि बरामद भएको छ । यस्तै, सुनको तिलहरी, काटल भएको सुनको चन्द्र हार, सुनको चुरा, सुनको सिक्रि, सुनको पेण्डल, सुनको हापे औंठी एक–एक थान र सुनको जन्तर दुई थान बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै ७ वटा मोबाइल नगद ९४ हजार सात सय, ५ वटा घडी पनि बरामद गरिएको हो ।
दैनिक नेपालबाट ।
Comments