Sajhamanch Archive

पिँढीमै बसेर बाटो हेर्दाहेर्दै अस्ताए बुद्धिकृष्ण

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं ।  लोकगायक बुद्धिकृष्ण लामिछानेको शुक्रबार दिउँसो ६३ वर्षको उमेरमा निधन भएको छ । भक्तपुरमा बस्दै आएका लामिछाने लामो समयदेखि बिरामी हुनुहुन्थ्यो  ।

‘पिँढीमा बसेर मेरै बाटो हेरेर मेरी आमा रुँदी हुन् मलाई सम्झेर’ । बुढेशकालमा एउटी आमाले छोराछोरीको बाटो हेरेर बिताउने अत्यासलाग्दो जिन्दगी, अशक्त शरीरले पाउने दुःख, अभाव र छटपटीलाई परदेशमा रहेका छोराले कसरी सम्झिन्छन् भनेर गीत कथेका गायक बृद्धिकृष्ण लामिछाने आफैले लामो समय यस्तै नियति झेल्नुपर्यो ।

गीतमा भने झैं उहाँको समय हरदिन पिँढीमै बित्ने गरेको थियो । भलै छोराछोरी आउने बाटोतिर आँखा नतेर्सिँदो हो, तर कोही नौलो मान्छे सम्झेर आई पो हाल्छन् कि भनेर घर तल्तिरको बाटो नियालिरहनुहुन्थ्यो । उहाँले आशाको पोको बिसाउनुहुन्थ्यो, ‘काठमाडौबाट निक्कै टाढा छ, धेरै कलाकार, पत्रकार मलाई सम्झेर आउनुभएको छ, नयाँ मान्छे वरपर हिँडिरहेको देख्दा मलाई भेट्न पो आएका हुन् कि भनेर म चासोका साथ हेर्छु ।’

काम गर्न नसक्दा
खाना लाउन नपाउँदा ।
जाडोमा लुगलुग काम्दी हुन्
भोकै बसी रुँदी हुन्

आफ्नै गीतमा गायक लामिछानेले भने झैँ उहाँले लामो समय काम गर्न सक्नु भएन, आफैले बनाएर आफैले खाने तागत गुमाइसक्नु भएको थियो । उहाँले खानाभन्दा बढी औषधि नै खानुभयो ।  नौ वर्षदेखि उच्च रक्तचाप, मधुमेह, मूत्रप्रणालीसम्बन्धी समस्या र टाउकोमा रगत जमेका कारण उहाँलाई एकखाले औषधि खाएर मात्र पुगेन । मधुमेहलाई पार लाउन सुई लगाउनुभयो, बिहान बेलुका गरी सातथरी औषधि खानुभयो ।

‘यो जिन्दगी खै के जिन्दगी, ओरालिँदो जिन्दगी, उर्जाबिनाको जिन्दगी यस्तै हो जिन्दगी’ गायक लामिछानेले मानवीय चोलाको उत्तरार्द्धतिर आउने अवस्थाको बारेमा यस्तो भन्नुहुन्थ्यो ।

लामिछानेले लोकगीत संकलनका क्रममा नेपालको डाँडाकाँडा र देशविदेशको भ्रमण गर्नुभएको थियो । घट्दै गएको बल, रोगले थलिएको कमजोर शरीरले एक कन्ला मुनि रहेको शौचालयमा पाइला नटेकेको वर्षौँ भैसकेको थियो । उहाँले पिँढीबाट जत्ति भ्याउनुहुन्थ्यो, त्यति नै हेर्नुभयो ।

उठ्न मन लागे पिँढीको थाम र लौरोको सहारा लिनै पर्यो । धर्मपत्नी दुर्गादेवी लामिछानेले पाखुरा समाएर नडाेर्‍याए भित्रबाहिर गर्न पनि निक्कै मुश्किल हुन्थ्यो ।

लोकगायक लामिछानेले गाएका घाँस काट्नु खुर्केर, आयो जोवन हुर्केर, गाई त बाँध्ने पाटको दाम्लो, बाखरी बाखरी,  तिम्रो र मेरो मायाको डोरो बेरौँ कि फन्फनी, पिँढीमा बसेर मेरै बाटो हेरेर लगायत गीतहरु चर्चित छन् । पछिल्लो समय रोगले गलिएका लामिछानेले आफूले गाएका सबै गीतहरु झट्ट सम्झिन पनि सक्नु हुन्थेन ।

नेपाली सेनाको जागिरसँगै लोकगीत संगीतको विकासमा पनि उत्तिकै योगदान पुर्याउनुभएका लोक गायक बुद्धिकृष्ण लामिछानेले रेडियो नेपाल र च्यानल नेपालमा लोकभाकासम्बन्धी कार्यक्रम चलाउनुभएको थियो । चर्चित हास्य टेलिश्रृंखला ‘हिजो आजका कुरा’ र ‘तीतो सत्य’मा समेत अभिनय गरेका लामिछानेले तीन दशकभन्दा बढी समय नेपाली संगीतमा बिताउनुभयो ।

बुद्धिकृष्ण लामिछानेसँग दुई वर्षअघि गरिएको कुराकानी सुन्नुहाेस्

लोक गायक लामिछानेलाई आफ्नै गीतमध्ये सबैभन्दा बढी ‘तिम्रो र मेरो मायाको डोरो बेरौँ कि फन्फनी’ मन पर्थ्यो । ‘खै किन हो किन मलाई यो गीत चाहिँ निक्कै मन पर्छ ‘तिम्रो र मेरो मायाको डोरो बेरौं कि फन्फनी कान्छी बेरौं कि फन्फनी’, उहाँले आफूलाई मन पर्ने आफ्नै गीत गाएरै सुनाइदिनुहुन्थ्यो ।

लामिछानेका २ छोरा, ३ छोरी र श्रीमती हुनुहुन्छ । छोरीहरु विवाह गरेर पराइ घर गइसकेका छन् । भक्तपुरको बागेश्वरीस्थित लामिछानेको पुर्ख्यौली घरमा अहिले २ छोरा र उहाँकी धर्मपत्नी हुनुहुन्छ । ‘मेरा गीतहरु जसरी भए पनि जतनका साथ राखिदेउ है’, उहाँले छोराहरुलाई जहिले पनि यही भन्ने गर्नुहुन्थ्यो ।

उज्यालोबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *