काँकरभिट्टा क्याम्पसको २० औँ वार्षिक उत्सव सम्पन्न
Published: (Updated: )
by .मेचीनगर । काँकरभिट्टा बहुमुखी क्याम्पसको २० औँ वार्षिक उत्सव तथा स्थापना दिवस शनिबार विविध कार्यक्रमसहित सम्पन्न भएको छ । क्याम्पसले वार्षिक उत्सवका अवसरमा ११ पुसदेखि विविध कार्यक्रम सञ्चालन गरेको थियो ।
क्याम्पस परिसरमा आयोजित कार्यक्रममा प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले कार्यक्रमको उद्घाटन गरेका हुन् । क्याम्पस सञ्चालक समितिका अध्यक्ष कमल थापाको सभापतित्वमा भएको कार्यक्रममा क्याम्पस प्रमुख लक्ष्मीप्रसाद उप्रेतीले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वार्षिक उत्सव समापनका अवसरमा क्याम्पसका विद्यार्थी बीच आन्तरिक कविता प्रतियोगितामा प्रथम हुने मिना गिरी, दोस्रो हुने सुमी सतार तथा तेस्रो हुने अनिता धिमाललाई पुरस्कार प्रदान गरिएको थियो । त्यसैगरी मेचीनगर स्तरीय अन्तर मा.वि. हाजिरीजवाफ प्रतियोगितामा प्रथम, दोस्रो तथा तेस्रो हुने क्रमस आदर्श मा.वि. आयावारी, नर्थ प्वाईन्ट मावि मेचीनगर र काँकरभिट्टा बहुमुखी क्याम्पसलाई समेत सिल्ड तथा प्रमाणपत्र प्रदान गरियो थियो ।
मेचीनगर स्तरीय अन्तर मा.वि. तथा क्याम्पस सुपर सिक्स क्रिकेट प्रतियोगितामा विजयी काँकरभिट्टा बहुमुखी कयाम्पसलाई नगद १० हजार तथा उपविजेत काँकरभिट्टा मा.वि.लाई नगद ५ हजार रुपैयाँ सिल्ड तथा प्रमाणपत्र प्रदान गरियो । यसैगरी नगर स्तरीय अन्तर मा.वि. नृत्य प्रतियोगितामा होलीवेल मा.वि.धुलावारी प्रथम, इष्ट होराइजन मा.वि. धुलावारी दोस्रो तथा नर्थ प्वाइन्ट मा.वि. काँकरभिट्टा तेस्रो भए । सवै विजयी विद्यार्थीहरुलाई सिल्ड प्रदान गरिएको थियो ।
प्रमुख अतिथि प्रदेश सभा सदस्य श्रीप्रसाद मैनालीले क्याम्पसले स्थापना गरेको अक्षय कोषका लागि नगद २ लाख रुपैयाँ घोषणा गरे । क्याम्पस प्रमुख उप्रेतीका अनुसार हालसम्म कोषमा करीव ३५ लाख रुपैयाँ संकलन भएको र शनिबारमात्रै १७ लाख रुपैयाँ घोषणा भएको छ । नगर प्रमुख विमल आचार्य, उपप्रमुख मिना पोखरेल उप्रेती, नेत्र नेपाल, नीलकण्ठ तिवारी, मोहनप्रकास उप्रेती, सुशील आचार्यलगायतले शुभकामना व्यक्त गरेका थिए । क्याम्पस प्रमुख उप्रेती र वरिष्ठ अध्यापक लम्बोदर पौडेलले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा सञ्चालक सदस्य दुर्गाप्रसाद सापकोटाले स्वागत गरेका थिए ।
Comments