Sajhamanch Archive

तिब्बतका डान्सबारमा नेपाली युवती

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

काठमाडौं  । दक्षिण अफ्रिका, भारत, खाडीका कतिपय मुलुकमा यौन कर्ममा कतिपय नेपाली युवती अहिले पनि कार्यरत छन् । अब, तस्करले युवतीका लागि यस्तै कर्म गराउन नयाँ गन्तव्य तय गर्न थालेका छन्, चीनको तिब्बत ।

रोजगारीको खोजीमा काठमाडौं आएका कतिपय युवतीलाई यस्तो गिरोहले यौनकर्ममा तिब्बतको केरुङमा रहेका रेस्टुरेन्ट र डान्सबारमा पुराउने गरेका छन् ।

रसुवादेखि उत्तरतर्फ पर्ने चीनको केरुङमा रेस्टुराँ र डान्सबारमा काम लगाइने गरेका नेपाली किशोरीहरू श्रम र यौन शोषणमा समेत पर्ने गरेको बताइन्छ । रसुवाका स्थानीय बासिन्दाले स्थायी बसोबासको प्रमाण देखाएर केरुङ जान पाउँछन् । तर अन्य जिल्लाका किशोरीहरूलाई नक्कली प्रमाण बनाएर तिब्बततर्फ लग्ने गरिएको बीबीसीले उल्लेख गरेको छ ।

केही समयदेखि रसुवागढी नाका चीन र नेपालबीच आवतजावत र सामान आयात–निर्यातका लागि एकमात्र नाकाका रूपमा सञ्चालनमा छ ।
अन्य जिल्लाका नेपालीलाई रसुवागढी नाका हुँदै चीन जान प्रवेशाज्ञा नै चाहिन्छ। तर रसुवाका बासिन्दाहरूले चीनको केरुङसम्म जाने विशेष सुविधा पाएका छन् ।

त्यसको फाइदा उठाउँदै नेपाली किशोरीहरूलाई राम्रो आय हुने कामको प्रलोभनमा पारेर केरुङ लैजाने क्रम बढ्दै गएको अधिकारीहरू बताउँछन् ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी प्रमुख सन्तोष तामाङले भने, ‘केही गिरोहलाई समातेर हामीले मानव बेचबिखनको मुद्दा पनि चलाएका छौँ । शोषण हुन सक्ने देखेर हामीले केही किशोरीलाई फर्कायौँ र केहीलाई रोक्यौँ ।’

बीस वर्ष नपुगेका युवतीलाई रसुवागढी नाकामै रोक्ने, जानेहरूको कागजपत्र अध्ययन गर्ने, परिवारसँग कुरा गर्ने र जोखिममा पर्नसक्ने देखिए उनीहरूलाई फर्काउने गरिएको छ । पछिल्लो पाँच महिनामा एक सय जनाभन्दा बढी किशोरीलाई फर्काइएको छ ।

अझै पनि केरुङमा विभिन्न डान्सबार र रेस्टुराँमा पाँच सय नेपाली किशोरी रहेको अनुमान मानव बेचविखनविरुद्ध काम गर्दै आएको संस्था माइती नेपालले जनाएको छ ।

त्यो संस्थाका अच्युतकुमार नेपालले भने, ‘त्यहाँ काम लगाइदिन्छु भनेर लैजाने अनि बन्धकजंस्तो बनाएर श्रम शोषण र यौन शोषण गर्ने गराएको पाइयो। भारतमा जस्तो चीनमा वस्तुगत अनुगमन गरेर प्रतिवेदन बनाउन गाह्रो छ ।’

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *