फर्स्ट डिभिजनमा स्नातकोत्तर पास भए सजिलै शिक्षक बन्न पाइने, कर्मचारीभन्दा १० प्रतिशत बढी तलब
Published: (Updated: )
by .
काठमाडौं । स्नातकोत्तर तहमा प्रथम श्रेणी (फर्स्ट डिभिजन)मा पास भएका व्यक्तिले शिक्षण पेसामा पहिलो प्रथामिकता पाउने भएका छन् ।
जुनसुकै संकायमा अध्ययन गरेको भएपनि स्नातकोत्तर तह प्रथम श्रेणीमा पास भएका व्यक्तिले शिक्षक अनुमति (लाइसेन्स) परीक्षा नदिइ माध्यमिक तहको शिक्षक बन्न पाउने व्यवस्था गरिँदै छ ।
सामुदायीक विद्यालय शिक्षामा लगानी गरे अनुरुप प्रतिफल आउन नसकेको भन्दै आलोचना भइरहँदा सरकारले स्नातकोत्तर तहमा प्रथम श्रेणी ल्याउनेलाई सहज रुपमा शिक्षक बन्न पाउने अवसर दिन लागेको हो ।
शिक्षा क्षेत्रको सुधारका लागि सरकारलाई सुझाव दिन बनेको उच्चस्तरीय शिक्षा आयोगले प्रथम श्रेणीमा पास भएकालाई शिक्षण पेसामा आकर्षित गराउन नयाँ व्यवस्था गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउँदै छ ।
शिक्षकको तलब कर्मचारीको भन्दा १० प्रतिशत बढी
शिक्षण पेसा प्राविधिक पेसा भएकाले शिक्षकहरुको तलब र सुविधा प्राविधिकको जस्तै हुनुपर्ने आयोगको ठहर छ । आयोगले शिक्षकको तलब सुविधा सरकारी कर्मचारीको भन्दा १० प्रतिशत बढाउने व्यवस्था गर्नुपर्ने सुझावसहितको प्रतिवेदन सरकारलाई बुझाउँदै छ । कर्मचारीको भन्दा १० प्रतिशत तलब वृद्धि गरेमा उच्च अंक ल्याउनेहरु शिक्षण पेसामा आकर्षित हुने आयोगको विश्वास छ ।
शिक्षा क्षेत्रको अवस्थाको अध्ययन गरी सुधारका लागि सुझाव दिन बनेको समितिले उक्त व्यवस्थासहितको प्रतिवेदन सरकारलाई पुस २२ गतेभित्र बुझाउने तयारी गरेको छ ।
बढ्ला शैक्षिक गुणस्तर ?
अहिले शिक्षाशास्त्र संकायमा पढ्ने अधिकांश विद्यार्थीहरु एसईई परीक्षामा सबैभन्दा तल्लो ग्रेड ल्याउनेहरु रहेका छन् । माथिल्लो ग्रेड ल्याउनेहरुले विज्ञान, व्यवस्थापन संकाय अध्ययन गर्ने र तल्लो ग्रेण ल्याउनेले मात्र मानविकी र शिक्षा शास्त्र संकाय अध्ययन गर्ने गरेका छन् । एसईईमा कमजोर ग्रेड ल्याउनेले विज्ञान, व्यवस्थापन लगातका शंकाय पढ्न पाउँदैनन् ।
शिक्षक बन्नका लागि शिक्षा शास्त्र संकाय वा एक वर्षे स्नातक अनिवार्य छ । शिक्षकको अनुमतिपत्रका लागि यस्तो व्यवस्था गरिएको हो । अन्य शंकायमा अध्ययन गर्नेहरुले पनि एक वर्षे स्नातक गर्ने गरेका छन् । तर शिक्षा शंकाय अध्ययन गर्नेहरु अहिलेको एसईईमा कमजोर ग्रेण ल्याउनेहरु नै धेरै हुने गरेका छन् ।
शिक्षा संकायका मात्र शिक्षक बन्दा नेपालको शैक्षिक गुणस्तरमा सुधार हुन नसकेको भन्दै सरकारले स्नातकोत्तरमा उच्च अंक ल्याउनेलाई पनि शिक्षण पेसामा आकर्षित गर्नुपर्ने शिक्षा विद्हरुको तर्क छ ।
प्रथम श्रेणीमा स्नातकोत्तर पास गरेकाहरु शिक्षण पेसामा आउँदा शिक्षण सिकाइ प्रभावकारी हुने शिक्षाविद्हरु बताउँछन् । यद्पी उनीहरुलाई शिक्षक सेवा अनुमति परीक्षा नलिएपनि शिक्षा शास्त्र संकायले तोकेको मापदण्ड अनुसारको तालिम भने दिनुपर्ने शिक्षाविद् मन प्रसाद वाग्ले बताउँछन् ।
‘स्नातकोत्तर प्रथम श्रेणीमा पास हुनेलाई लाइसेन्स नभए पनि पढाउन पाउने भनिएको छ, हाम्रो एजुकेसन खत्तम भइसकेको छ, त्यसैले यो एकप्रकारले राम्रो हो,’ शिक्षाविद् वाग्लेले लोकान्तरसँग भने, ‘तर प्रथम श्रेणी मात्रै आएर पढाउन सक्छन् भन्ने हुँदैन,उनीहरुलाई शिक्षाशास्त्र संकायले तोकेको मापदण्डमा रहेर तालिम चाहिन्छ । सुविधा पनि दिने तालिम पनि दिने गरेर ल्याउन सकिन्छ ।’
अहिले शिक्षण पेसामा रहेका धेरै शिक्षकहरुको पढाउने विषयवस्तु र क्षमतामा समस्या रहेको भन्दै वाग्लेले उच्च अंक ल्याउने व्यक्तिहरु शिक्षण पेसामा आउँदा नेपालको शिक्षामा सुधार हुने दाबी गरे ।
वाग्लेले भने, ‘अहिले शिक्षण पेसमा रहेका धेरै शिक्षकको विषयवस्तुमा समस्या देखिएको छ, राम्रो अकं ल्याउनेहरुलाई तालिम दिएर शिक्षण पेसामा ल्याउन सकेमा नेपालको शिक्षा गुणस्तर हामीले सोचे भन्दा पनि बढी सुधार हुनसक्छ ।’
विद्यालय तहको संरचनाअनुसार कक्षा ९ देखि १२ सम्मलाई माध्यमिक तहमा राखिएको छ । हाल नेपालभर कक्षा ९ र १० सम्म ९ हजार ४ सय ४७ विद्यालय छन् भने कक्षा ११ र १२ को समेत पढाइ हुने विद्यालय ३ हजार ७ सय ८१ छन् । माध्यमिक तहमा करिव १४ लाख विद्यार्थीहरु र उनीहरुलाई पढाउने ६४ हजार शिक्षक रहेको शिक्षा मन्त्रालयको तथ्यांक छ ।
लोकान्तरबाट ।
Comments