Sajhamanch Archive

अपाङ्ग राजवंशीलाई स्थानीय युवाहरुले घर निर्माण गरिदिने

Published: in राष्ट्रिय समाचार by .

बिर्तामोड । छोरा जन्मजात अपाङ्ग, आमा मानसिक सन्तुलन ठीक नभएकी त्यसमा पनि मागेर गुजारा गर्नुपर्ने अभावको जिन्दगी । त्योभन्दा कन्त बिजोग के हुन सक्छ र ?

बिर्तामोड नगरपालिका ९ डोले चौकका डोले राजवंशीले त्यस्तो दयनीय अबस्था भोग्दै आएका हुन् । जन्मदै अपाङ्ग जन्मिएका ५० बर्षीय तिनै डोलेलाई स्थानीय युवाहरुले घर निर्माण गरिदिने भएका छन् । मानसिक सन्तुलन ठीक नभएकी आमा ८० बर्षीया सुकसरी राजवंशीसँग उनी बर्षौदेखि झुप्रोमा बस्दै आएका छन् ।

आज बिहान बसेको स्थानीय युवाहरुको भेलाले डोले राजवंशी घर निर्माण समिति गठन गरी घर निर्माणको काम अघि बढाउने निर्णय गरेको छ । प्रकाश बुढाथोकीको अध्यक्षतामा गठित समितिको उपाध्यक्षमा पूर्णकुमारी राजवंशी, सचिव प्रदीपकुमार संग्रौला, सहसचिव कमल अधिकारी र कोषाध्यक्षमा दुर्गा पाठक रहेका छन् । त्यस्तै सदस्यहरुमा रमेश राजवंशी, हरेश राजवंशी, चेतन शिवाकोटी, राजेन्द्र सिटौला, सरोज पौडेल र लक्ष्मी मोक्तान रहेका छन् । त्यसैगरी तेजप्रसाद पाठकको संयोजकत्वमा ७ सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । घर निर्माणका लागि जग्गादाता किरण राजवंशीले जग्गा दिने भएका छन् ।

गास ,बास र कपासको समस्याबाट गुज्रिरहेका डोलेलाई कसैले सहयोग नगरेपछि आफूहरुले मानवीय भावनाले चन्दा संकलन गरेर घर निर्माण गरिदिन लागेको अध्यक्ष बुढाथोकीले बताए । उनका अनुसार करिब २ लाख रुपैयाँको लागतमा टीनको छानो भएको पक्की घर निर्माण गरिनेछ । चुनावीताका राजनीतिक दल र तिनका कार्यकर्ताहरुले आश्वासन दिएपनि कुनै सहयोग नगरेपछि आफूहरुले अगाडि बढ्नु परेको समितिका सस्य राजेन्द्र सिटौलाले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *