प्रधानन्यायाधीशमा चोलेन्द्रशम्शेर जबरा सर्वसम्मत अनुमोदन
Published:
by .
काठमाडौं । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन भएका छन्। आज सिंहदरबारमा बसेको संसदीय सुनुवाइ विशेष समितिको बैठकले राणाको नाम प्रधानन्यायाधीशमा अनुमोदन गर्ने निर्णय गरेको संसदीय सुनुवाई विशेष समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए।
संसदीय सुनुवाइ समितिले संवैधानिक समितिको सिफारिस स्वीकृत गरेमा राणालाई राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्नेछिन्।
राणालाई मंसिर २७ गते बसेको संवैधानिक परिषदको बैठकले भावी प्रधानन्यायाधीशमा सिफारिस गरेको थियो। त्यसअघि न्याय परिषद्ले राणा र दीपकराज जोशीको नाम सिफारिस गरेको थियो।
सांसदहरूका प्रश्नको जवाफमा जबराले आफू अदालती सेवाबाट निस्कने बेलामा अनुहारमा कालो पोतेर नहिँड्ने बताए। ‘म अब निस्कने बेलामा आफ्नो अनुहारमा कालो पोतेर, कोतरेर, नचिनिने भएर, कुरुप भएर जाने छैनु, जबराले भने, अदालतको विश्वास र आस्था बचाएर राख्ने छु।’
२०१४ मंसिर २८ गते जन्मिएका जबरा २०७१ जेठ १३ देखि सर्वोच्च अदालतमा न्यायाधीश छन्। प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले उमेर हदका कारण आजदेखि नै अवकाश पाएका छन्।
Comments