खुल्ला दिसामुक्त घोषणा गर्न चुनौति भएपछि सांसदले नै घरदैलोमा
Published:
by .
मोरङ ।मोरङ जिल्लामा सुगम मानिएका ठाउँ नै खुल्ला दिसामुक्त घोषणा नभएपछि सांसदले नै घरदैलो अभियान थालनी गरेका छन् ।
मंगलबार विहान प्रदेश सभा सदस्य चुमनारायण तवदार सहितको टोलीले सदरमुकाम विराटनगरसँगै रहेको बूढीगंगा गाउँपालिका, वडा नं. २ मा चर्पी नबनाएका घरको स्थलगत अनुगमन र घरदैलो गरेका छन् । “घरदैलो गर्दा धेरै समस्या थाहा पाउने मौका मिल्यो”, उनले भने, “साना साना समस्याले अल्झिएको रहेछ खुल्ला दिसामुक्त अभियान । अब यसलाई समाधान गरेर छिटोभन्दा छिटो खुल्ला दिसामुक्त घोषणा गर्नुपर्छ।”
जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्यहरु, धनपालथान गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत समेत रहेका स्थानीय बाबुराम शर्मा लुइँटेल, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको टोली समुदायमा पुग्दा कोही वडाबाट रिङ पाउने आशामा रहेको भेटिए भने कोही रिङ र प्यान लिएर ढुक्कले चर्पी नबनाई बसेको भेटियो । “निरन्तर अनुगमन र घरदैलो अभियानको कमी देखियो”, लुइँटेलले भने, “अब संयुक्त टोली बनाएर निरन्तर घरदैलो गर्न सकेमा छिटै खुल्ला दिसामुक्त हुन सक्छ ।”
प्रदेश सभा सदस्य तवदारले खुल्ला दिसामुक्त घोषणापछि मात्र भौतिक विकासका अन्य काम थालनी गरिने बताए । “खुल्ला दिसामुक्त गर्ने राष्ट्रिय लक्ष्य पूरा गरेपछिमात्र भौतिक विकासका अन्य काम अघि बढाउने हो”, स्थानीय समुदायसँगको अन्तरक्रियामा उनले भने, “पहिले झाडी र खोल्सामा दिसा गर्न छोड्नुहोस्, सभ्य नागरिक बन्नुहोस् । त्यसपछि सडक विस्तार गरौंला ।”
प्रदेश सभा सदस्य अनुगमनमा जाने जानकारी भए पनि गाउँपालिका प्रमुख र वडाअध्यक्ष घरदैलोमा भने गएनन् । वडाअध्यक्ष स्वास्थ्य जाँच गराउनका लागि काठमाण्डौ जाने तयारी गरेको बताए । “भोलि विहान पनि म घरदैलोमा आउँछु”, प्रदेश सभा सदस्य तवदारले गाउँपालिका अध्यक्षलाई टेलिफोनमा निर्देशन दिए, “भोलि विहान यहाँका सबै साझेदारलाई भेला गर्नुहोला । अब खुल्ला दिसामुक्त घोषणा नहोउञ्जेल घरदैलो र अनुगमन जारी राख्नुपर्छ ।”
सुगम ठाउँमा नै चुनौति
१ नं. प्रदेशमा राजधानीसमेत रहेको मोरङ जिल्लामात्र खुल्ला दिसामुक्त हुन बाँकी रहेको छ । त्यसमा पनि, सुगम मानिएका स्थानीय तहका कारण जिल्ला खुल्ला दिसामुक्त घोषणा हुन बाँकी रहेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले यसअघि पटक पटक खुल्ला दिसामुक्त घोषणाको मिति तय गरे पनि, स्थानीय तहले टेरपुच्छर लगाएका छैनन् ।
स्थानीय तहले पनि पटक पटक खुल्ला दिसामुक्त घोषणा गर्ने वाचा गरे पनि कार्यान्वयनमा आउन नसकेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय, डिभिजन ४ का प्रमुख ई. सयनकुमार श्रेष्ठले बताए। गत असोज २७ गते जिल्लामा आयोजना गरिएको बहुसरोकारवाला शूक्ष्म योजना तर्जुमा कार्यशालामा कार्तिक २९ सम्ममा खुल्ला दिसामुक्त घोषणा गर्ने वाचा गरेका विराटनगर महानगरपालिका र बूढीगंगा गाउँपालिका तथा मंसीर १० सम्ममा खुल्ला दिसामुक्त घोषणा गर्ने लक्ष्य राखेको जहदा गाउँपालिका खुल्ला दिसामुक्त घोषणा हुने छाटकाट देखिदैन ।
विराटनगर महानगरपालिकाका वडा नं. १८ र १९ खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छ । वडा नं. १८ मा सहजीकरणको जिम्मेवारी लिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका कार्यक्रम अधिकृत अमर बराइलीका अनुसार नगरपालिकाले रिङ उत्पादनका लागि वडालाई रकम निकासा दिइसकेको छ भने वडाले रिङ बनाइरहेको छ । “अझै केही दिन लाग्छ, वडाहरु खुल्ला दिसामुक्त घोषणा हुन”, उनले भने ।
विराटनगरसँगै जोडिएको कटहरी गाउँपालिकामा खुल्ला दिसामुक्त अभियान तीव्र छ । गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतसहितको टोलीले नियमित अनुगमन र घरदैलो गरिरहेको छ । सुरक्षा निकायले सहयोग गरिरहेको छ भने विभिन्न संघसंस्थाले घरदैलो र अनुगमनमा साथ दिइरहेका छन्।
चुनौति बन्यो जहदा
खुल्ला दिसामुक्त अवस्थाको नजिक पुगेको भनिएको जहदा गाउँपालिका नै अहिले मोरङ जिल्ला खुल्ला दिसामुक्त अभियानको सबैभन्दा चुनौति बनेको छ । तीन महिनाअघि जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति मोरङले सार्वजनिक गरेको तथ्यांकअनुसार जहदा गाउँपालिकामा २ सय ४९ घरधुरीमा चर्पी बनाउन बाँकी रहेको देखाइएको थियो । तर अहिले पनि जहदा गाउँपालिकामा कम्तिमा १ हजार २ सय घरधुरीमा चर्पी बनाउन बाँकी रहेको वडाहरुबाट प्राप्त तथ्यांकले देखाउँछ । दुई साताअघि जहदा गाउँपालिका, वडा नं. ४ मा भएको एक बैठकमा सो वडालाई खुल्ला दिसामुक्त गराउनका लागि प्रतिघर ४ वटा रिङ वितरण गर्ने हो भने पनि करिब १ हजार ६ सय रिङ बनाउनुपर्ने जनाइएको थियो । यसबाट थाहा हुन्छ कि, जहदा गाउँपालिका वडा नं. ४ मा त्यतिबेला करिब ४ सय घरधुरीमा चर्पी बनाउनुपर्ने थियो ।
यसैगरी, सोमबारमात्र जहदा गाउँपालिका, वडा नं. ७ मा भएको छलफलमा सो वडामा ८ सय ४२ घरधुरीमा सुरक्षित चर्पीको पहुँच पुग्न बताइएको थियो । यसैगरी, वडा नं. २ पनि खुल्ला दिसामुक्त घोषणा हुन बाँकी छ । “अब जहदा गाउँपालिकामा शूक्ष्म कार्ययोजना तयार गरी नियमित रुपमा अभियान सञ्चालन नगरेसम्म खुल्ला दिसामुक्त घोषणा हुन नसक्ने देखिन्छ”, खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयबाट खुल्ला दिसामुक्त अभियान हेरिरहेकी महिला कार्यकर्ता शान्ति मिश्रको भनाइ छ, “तथ्यांक लुकाउने र यथार्थ नबताउने परिपाटीले पनि खुल्ला दिसामुक्त अभियानलाई सार्थक निस्कर्षमा पु¥याउन कठिन भएको छ ।”
सहजीकरण नै प्रभावकारी भएन
मोरङ जिल्लाभित्र निरन्तर सहजीकरण भैरहेका ठाउँहरु नै अझैसम्म पनि खुल्ला दिसामुक्त हुन नसक्नुमा सहजीकरण प्रभावकारी हुन नसक्नु पनि एक प्रमुख कारण रहेको बताउँछन् खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयका प्रमुख सयनकुमार श्रेष्ठ । “हुन त सबै कुरा सहजीकरण गर्ने संस्थाको हातमा हुँदैन, तर पनि निरन्तर सहजीकरणको डेढ वर्ष बितिसक्दा पनि निश्चित इकाइ खुला दिसामुक्त हुन नसक्नुमा कमजोर सहजीकरण पनि एक कारक हो”, श्रेष्ठको भनाइ छ, “अब सहजीकरणको रणनीति परिवर्तन गरेर जानुपर्छ ।”
मोरङ जिल्लामा खुल्ला दिसामुक्त घोषणा हुन बाँकी चार स्थानीय तहमध्ये कटहरीमा यसअघि बाह्य सहजीकरण थिएन । अहिले गाउँपालिकासँगको समन्वयमा मातृभूमि महिला समाजले सहजीकरणमा सहयोग गरिरहेको छ भने अन्य सम्पूर्ण व्यवस्थापन गाउँपालिकाले नै गरिरहेको छ । यसैगरी, विराटनगर नगरपालिकाको वडा नं. १८, बूढीगंगा गाउँपालिकाको वडा नं. २ र साविक सिस्वनी गाउँ विकास समितिमा सहजीकरणको जिम्मेवारी लिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संस्थाले सहजीकरण गर्ने परियोजना अवधि समाप्त भैसकेको छ । जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकमा सम्बन्धित संस्थाले खुल्ला दिसामुक्त अवस्था हासिल गर्ने बेलासम्म आफूहरुले जिम्मेवारी लिएको ठाउँमा निरन्तर सहजीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
यसबाहेक, बूढीगंगा गाउँपालिका, वडा नं. २ मा वडाको तर्फबाट २६ जना सहजकर्ता परिचालन गरेको भए पनि, यो उपलब्धीमूलक हुन सकेको छैन । “गाउँपालिका र वडाको साधन श्रोत खर्च भैरहेको छ, तर पनि सहजकर्ताहरुले प्रभावकारी रुपमा अनुगमन, घरदैलो र प्राविधिक सहयोग गर्न सकेको देखिदैन”, ग्लोबल स्यानिटेसन फण्ड कार्यक्रमका जिल्ला संयोजक एवम् जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य विनोद शर्मा भन्छन्, “रणनीति र प्रतिवद्धता नै कमजोर भयो ।”
जहदा गाउँपालिकामा समेत सहजीकरण प्रभावकारी हुन नसकेको बताउँछिन् डिभिजन कार्यालयकी शान्ति मिश्र । “एउटा संस्थाले सहजीकरण गरिरहेको अवस्थामा, वडा नं. ७ मा अर्को स्थानीय संस्थाले समेत सहयोग गरिरहेको छ”, उनले भनिन्, “त्यहाँ परिचालनको कमी भएको देखिएकोले हामीले सामुदायिक विकास समाजलाई समेत सहजीकरणका लागि अनुरोध गरेका छौं । अब डिभिजनको तर्फबाट समेत आवासीय परिचालन गरेर यसै महिनाभित्र जिल्लालाई खुल्ला दिसामुक्त अवस्थामा पु¥याउनुपर्नेछ ।”
Comments