यसरी आत्मनिर्भर बन्दैछ संखुवासभा
Published:
by .
संखुवासभा । संखुवासभा जिल्ला विद्युतमा आत्मनिर्भर बनेको छ। स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रो हाइड्रो र हाइड्रोपावर सञ्चालनले जिल्लामा लोडसेडिङ अन्त्य भएको पाइएको छ। बर्खा यामको समय आफ्नै जिल्लामा उत्पादन भएको विद्युत बढी हुने नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय खाँदबारीले जनाएको छ।
संखुवासभामा हाल ११.८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ। संखुवासभामा सभाखोलाबाट ४.४ मेगावाट, हेवाँ खोलाबाट ३.२ मेगावाट, पिलुवा–१ बाट ३ मेगावाट र लोवर पिलुवाबाट १ मेगावाट विद्युत उत्पादन हुने गरेको छ। जिल्लामा हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत प्राधिकरण संखुवासभा वितरण केन्द्रका प्रमुख ध्रुव अधिकारीले जानकारी दिए। जिल्लामा १० भन्दा बढी साना खोलाहरूबाट ‘माइक्रो हाइड्रो’ सञ्चालन गरी स्थानीयले विद्युत सेवा लिइरहेको पनि उनले बताए। जिल्लामा उत्पादित विद्युत छिमेकी जिल्लाहरूमा समेत दिइने गरिएको प्रमुख अधिकारी भनाइ छ। संखुवासभाको अरुण नदीमा ठूला प्रोजेक्टका रूपमा बहुचर्चित ९ सय मेगावाटको अरुण तेस्रो, माथिल्लो अरुण, अपर अरुण, अरुण चोथौ र अरुण दोस्रो समेतको सर्भे भइसकेको छ। भने सबैभन्दा महत्वपूर्ण र ठूलो उत्पादन हुने अरुण तेस्रोको काम भारतीय सतलज कम्पनीले गरिरहेको छ। त्यसैगरी सभाखोलाबाट दिव्यश्वरी हाइड्रोपावरले ४ मेघावाट विद्युत उत्पादन गरिरहेको छ।
पिलुवा जलविद्युत आयोजना, बानेश्वर जलविद्युत् आयोजना संचालनमा रहेको छ। यी दुईवटा आयोजनाले ४ किलोवाट उत्पादन गरेर पनि केन्द्रीय प्रशारण लाइनमा आबद्ध भइसकेका छन्। निगुरे जलविद्युत आयोजना लामो समयदेखि बिग्रिएर बन्द रहेको छ। यो आयोजना जिल्लाका तीनवटा क्याम्पस वरुण बहुमुखी, संखुवासभा बहुमुखी र मादी बहुमुखी क्याम्पसले संयुक्त रूपमा संचालन गरेको हो। त्यसका साथै जिल्लाका अन्य विभिन्न स्थानीय खोलानालाबाट स्थानीय रूपमा ऊर्जा शक्ति हाइड्रोपावर संचालनमा रहेका छन्। संखुवासभाका सातवटा स्थानीय तहबाहेक अन्य स्थानीय तहका गाउँमा केन्द्रीय प्रसारण पुगेको छैन। केन्द्रीय प्रसारण लाइन नपुगेको ठाउँहरूमा हाइड्रोपावरबाटै उज्यालो छाएको छ।
केन्द्रीय प्रसारण लाइनले नछोएको संखुवासभाका धेरै स्थानीय तहका गाउँबस्तीहरुका पेल्ट्रीकसेट, माइक्रोहाइड्रो र हाइड्रोपावरकै भरमा छन्। संखुवासभाका सिलिचोङ, चिचिला, मकालु, भोटखोला, चैनपुर नगरपालिका भित्रका गाउँबस्ती जहाँसम्म विद्युतको केन्द्रीय प्रसारण लाइन पुग्न सकेको छैन, त्यहाँ स्थानीय हाइड्रोपावरको माध्यमबाट बिजुली बलिरहेका छन्। उज्यालो पाउनका लागि स्थानीय गाउँलेहरुले पेल्टीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर संचालन गरे पनि बेला–बेला बिग्रने समस्याबाट भने ग्रसित छन्। बेला–बेला हाइड्रोपावर बिग्रिनु स्वाभाविकै हो। विद्युतको केन्द्रीय प्रसारण लाइन नपुगेका ती दुर्गम गाउँबस्तीहरुमा हाइड्रोपावरका कारण अध्यारोमा बस्नुनपरेको स्थानीय वसन्त गुरुङको भनाइ छ। संखुवासभामा विद्युत उत्पादन बढ्दै गए पनि खपतको अवस्था भने न्यून छ।
विद्युत प्राधिकरण खाँदबारी वितरणको अनुसार हाल साँझको समयमा ४ मेगावाट खपत भइरहेको छ भने दिउँसो २ मेगावाट मात्र खपत भइरहेको छ। जिल्लामा उद्योग कलकारखना नभएकोले दिउँसो विद्युतको प्रयोग कम भएको प्रमुख अधिकारीले बताए। जिल्लामा उत्पादित विद्युत पिलुवा सवस्टेशनबाट धनकुटा, धरान हुँदै दुहबीबाट केन्द्रीय प्रसारण लाइनमा जोडिन्छ। जिल्लामा चारवटा हाइड्रोपावरका कारणले आत्मनिर्भर भए पनि १० वटै स्थानीय तहमा भने विद्युतको केन्द्रीय प्रसारण लाइन पुगेको छैन।
थाहाखबरबाट ।
Comments