Sajhamanch Archive

तालिबानीको आक्रमण, पाँच सैनिक मारिए

Published: in राष्ट्रिय समाचार by .

काठमाडौं । अफगानिस्तानको एक सैन्य शिविरमा तालिबान लडाकू समूहले गरेको आक्रमणमा परी कम्तीमा पाँच अफगान सैनिक मारिनुका साथै अन्य छ जना घाइते भएका छन् ।

देशको दक्षिण भागमा पर्ने कान्दाहार प्रान्तको मेवाद जिल्लामा रहेको शिविरमा भएको आक्रमणमा उनीहरु मारिएको एक स्थानीय अधिकारीले जानकारी दिएका छन् ।

आक्रमण गर्न सैन्य शिविरमा आएका तालिबान लडाकूहरुलाई जवाफी कारबाहीस्वरुप अफगान राष्ट्रिय सेनाको तर्फबाट बन्दुक, रकेटलगायतका हतियारले आक्रमण गरेको थियो ।

नाम नबताउने शर्तमा यी जानकारीहरु दिएका एक सरकारी अधिकारीले आक्रमण गर्न आएका तालिबान लडाकूहरुको संख्या भने यकिन भएको बताए ।

ती सरकारी अधिकारीले सरकारी सुरक्षाकर्मी र तालिबान लडाकूबीच भएको दोहोरो गोली हानाहानमा परी कैयौँ आतङ्ककारी मारिनुको साथै केही घाइते भएको दावी पनि गरेका छन् ।

तर के कति सङ्ख्यामा तालिबान लडाकू मारिए यसको यकिन सङ्ख्या भने प्राप्त भएको छैन ।

सेनाका प्रवक्ता मोहमद याहयाले यस हताहतको पुष्टि गर्नुृ हुँदै यसको विस्तृत विवरण भने पछि जानकारी दिने बताए ।

कान्दाहार प्रान्तमा पहिलेको तुलनामा सुरक्षा व्यवस्थामा सुधार भएको बताइन्छ । गत केही महिनायता सुरक्षा अधिकारीहरुले तालिबान र अन्य लडाकूविरुद्ध खोजीलगायत अन्य कारबाही जारी राखेका छन् ।

तर अझै पनि तालिबान लडाकूहरुले कान्दाहार प्रान्तमा सरकारी अधिकारी र सरकारी स्थल लक्षित आक्रमण गर्दै आएका छन् ।

गत तीन दिनयता अफगानिस्तानभरी भएका विभिन्न झडप र आक्रमणमा परी करीब १५ जना अफगान सुरक्षा बलका अधिकारीको मृत्यु हुनका साथै अन्य ४० जना घाइते भएका छन् । (एजेन्सी)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *