गुणस्तरहीन भवन भन्दै गाउँपालिका प्रमुखले भत्काइदिए आफ्नै कार्यालय
Published:
by .
खोटाङ । गुणस्तरहीन भएको भन्दै खोटाङको रावाबेँसी गाउँपालिकाका प्रमुख लिलानाथ निरौलाले निर्माणाधीन कार्यालय भवन भत्काएका छन्।
मापदण्ड ख्याल नगरी ठेकेदारले आफूखुशी गुणस्तरहीन भवन बनाएकाले भत्काएको प्रमुख निरौलाले बताए। तीन महिनाभित्र सम्पन्न गर्नेगरी शुभ एण्ड ध्रुव कन्ट्रक्सन प्रालिले निर्माणको काम थालेको कार्यालय भवन गुणस्तरहीन बन्दै गएपछि सम्पन्न नहुँदै गाउँपालिका प्रमुख निरौलाले भत्काएका हुन्। प्रमुख निरौलाले भवनको भित्री भागको भुँइमा गरिएको ढलान, भवनको गाह्रो, बाहिरपट्टी गरिएको प्लास्टर भत्काइ दिएको स्थानीयले बताएका छन्।
भवन निर्माणमा ठेकेदारले चरम लापरबाही गरेको सर्वत्र गुनासो आएपछि प्रमुख निरौलाले पुनः निर्माण गर्न आग्रह गरेका छन्। भुँइमा बिच्छ्याइएको ढुङ्गामाथि चार इन्च ढलान गर्नुपर्नेमा माटोमाथि दुई इन्च मात्र गरिएको र ढलानको सामग्री समेत गुणस्तरहीन प्रयोग गरेको पाइएको पालिका प्राविधिकले जनाएको छ। यता, निर्माणाधीन कार्यालय भवन छोटो समयमा सम्पन्न गर्नुपर्ने भएकाले कमजोरी भएको निर्माण कम्पनीका उमेश राईले स्वीकारेका छन्। ‘हतारमा काम गर्दा कमजोरी भयो गाँउपालिकाको खबरदारीपछि पुनः भत्काएर गुणस्तर निर्धारण गर्ने काम गर्दैछौँ।’ समयमा भवन निर्माण नभएपछि दोस्रो पटक थपिएको अवधि समेत गत मङ्सिर १५ गते नै सकिएको छ।
प्राविधिक मूल्याङ्कन भन्दा कम लागतमा निर्माण कार्य थालिएको भवनका लागि गाउँपालिकाले एक करोड, तीन लाखमा टेण्डर आह्वान गरेकोमा ठेकेदार कम्पनीले ७६ लाखको लागतमा निर्माणको जिम्मा लिएको छ। चार कोठा भएको एक तले भवन इटाको गाह्रो लगाएर आल्मोनियम जडान गरी १४ कोठा बनाउने योजना रहेको छ।
थाहा खबरबाट ।
Comments