सरुवा र भ्रष्टाचारको बिवादले विराटनगरमा श्रम स्वीकृती कार्यक्रम प्रभावित
Published:
by .
विराटनगर । सरुवा र भ्रष्टाचारको बिवादमा रहेको श्रम कार्यालय विराटनगरका दुई अधिकृतहरुको लगालग सरुवा भएपछि चर्चा अझै चुलिएको छ ।
घुस लिनेदिनेहरुका कट्टर शत्रुका रुपमा चिनिँदै आएका वरिष्ठ श्रम अधिकृत प्रेमप्रसाद सञ्जेलको अनियमित सरुवाले बिवादमा आएको श्रम तथा रोजगार कार्यालय विराटनगर निमित्त पाएका अधिकृत मणिनाथ गोपको पनि सरुवा भएपछि चर्चा अझै चुलिएको हो ।
आफूलाई मन्त्रालयका सचिवस्तरीय निर्णयबाट बिनाकारण हाजिर भएको अढाई महिनामै भ्रष्टाचार संस्थागत गर्न सरुवा गरेको भन्दै वरिष्ठ श्रम अधिकृत (उपसचिव) प्रेमप्रसाद सञ्जेलले पत्रकार सम्मेलन गरी बिवाद छताछुल्ल बनाएका थिए । उनले आफू श्रम अधिकार दिलाउन सक्रीयतापूर्वक लागिपरेको र भ्रष्टाचारको विरोध गरेकैले आफ्नो एकल निर्णयबाट पहुँचको दुरुपयोग गरी सरुवा गरेकाले कामकाज गर्न खटाएको ठाउँमा कुनै हातलमा नजाने अडान लिएका थिए ।
गत २५ असोज २०७५ मा श्रम तथा रोजगार कार्यालयमा वरिष्ठ श्रम अधिकृतको रुपमा हाजिर भएका सञ्जेललाई ६ पुस २०७५ मा व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठान ईटहरीमा कार्यकारी निर्देशक भएर कामकाज गर्ने गरी सरुवा गरिएको थियो । चार वर्षदेखी निरन्तर निमित्त भएर विराटनगरमा बसेका अधिकृत मणिनाथ गोपलाई नै निमित्त प्रमुख बनाएर वैदेशिक श्रम स्वीकृतिमा अंकुत भ्रष्टाचार गर्न आफूलाई सरुवा गरेको आरोप सञ्जेलको थियो ।
निरन्तर सरकारले लागू गरेको सामाजिक सुरक्षा कोष र श्रम ऐन लागू गराउँन लागि परेका वरिष्ठ श्रम अधिकृत (उपसचिव) सञ्जेलको अकस्मात बिनाकारण अनियमित सरुवा भएपनि मजदूर नेताहरुले मौनता साधिरहेका छन् ।
श्रम तथा रोजगार कार्यालयमा आएपछि सञ्जेलले नक्कली जलविद्युत्त आयोजना अनि कृषी कम्पनी खोलेर कर्मचारी भर्ना गरेर पारिश्रमिक नदिई ठगी गर्ने, उद्योगमा पारिश्रमिक नदिनेलाई पारिश्रमिक दिनका लागि फैसला गर्ने अनि वैदेशिक रोजगारका नाममा ठगी गर्नेहरुलाई धमाधम पक्राउ गराएर कारवाही गराउन थालेका थिए ।
यसबाहेक योगदानमा आधारित समाजिक सूरक्षा योजना लागू गराउन र श्रम ऐन अनुसार मजदुरको न्यूनतम पारिश्रमिक दिलाउन पनि सञ्जेलले थालनी गरेका थिए । यसकालागि उनले सुनसरी मोरङ औधोगिक करिडोरमा सञ्चालनमा रहेका उद्योगहरुको अनुगमन गरेर प्रतिवेदन तयार गरी सुरक्षा योजना र ऐन कार्यान्वयन गर्न उद्योग र कम्पनीहरुलाई धमाधम पत्राचारसमेत गर्न थालेका थिए ।
Comments