Sajhamanch Archive

सार्वजनिक सुनुवाईमा प्रहरी र जनप्रतिनिधि समक्ष नगरबासीको गुनासो

Published: in राष्ट्रिय समाचार by .

भद्रपुर । समुदाय–प्रहरी साझेदार अवधारणा अन्तरगत भद्रपुर नगरपालिका स्तरीय सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले गुनासो पोखेका छन् । वडा प्रहरी कार्यालय भद्रपुर र सामुदायिक प्रहरी सेवा केन्द्र भद्रपुरको संयुक्त आयोजनामा भद्रपुर बजारमा आयोजित सार्वजनिक सुनुवाई कार्यक्रममा नगरबासीले प्रहरी इञ्जार्च तथा जनप्रतिनिधि समक्ष आफ्ना गुनासा सहितका सुझावहरु राखेका थिए ।

भारतीय सीमावर्ती नाकासँग जोडिएको भद्रपुर बजार लगायत आसपासको क्षेत्रमा चोरी, तस्करी, लागुऔषध ओसारपोसार, भारतबाट आयातित बिषादी खाद्यन्न सामग्री, ट्राफिक व्यवस्थापन, छाडा चौपाया, भारतीय चिठ्ठा आतंक, सिटी तथा अटो रिक्साको व्यवस्थापन, जथाभावी मदिराजन्य पदार्थको बिक्रीवितरण लगायतका समस्याका बारेमा नगरबासीले जानकारी गराएका थिए । भर्खरै वडा प्रहरी कार्यालयमा सरुवा भएर आएका प्रहरी निरीक्षक यमकुमार श्रेष्ठले समुदाय–प्रहरी साझेदारी अवधारणामार्फत नगरको शान्ति सुरक्षालाई अघि बढ्ने योजनाका साथ यस कार्यक्रमको आयोजना गरेका थिए ।

नगरबासीले राखेको गुनासा सुन्दै प्रहरी निरीक्षक श्रेष्ठले नगरको शान्ति सुरक्षासहित उठाएका गुनासालाई सम्बोधन गर्ने प्रतिबद्धता जाहेर गरेका थिए । कार्यक्रममा भद्रपुर नगरपालिका नगर प्रमुख जीवनकुमार श्रेष्ठ, ५ नम्बर वडा अध्यक्ष बन्ध कार्की, सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष शिला खड्का लगायतले नगरबासीले उठाएको गुनासासहितको सुझावहरुलाई सम्बोधन गरेका थिए । कार्यक्रममा भद्रपुर बजार व्यवस्थापन समितिका अध्यक्ष हजरत अलि, पत्रकार दीपक अधिकारी, साना हाता नेपाल संस्था भद्रपुरका अध्यक्ष जगत वाग्ले, दीपक अग्रवाल, डम्बर बर्मा, सावित्री कार्की, सञ्जिव गुप्ता लगायतले आआफ्नो धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *