Sajhamanch Archive

नेविसंघ संस्थापन समूहका सात पदाधिकारीले दिए राजीनामा

Published: in राजनीति by .

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशन समयमा हुन नसकेको भन्दै संस्थापन समूहका सात जना पदाधिकारीले राजीनामा दिएका छन्।

पटक पटक म्याद थप्दा पनि अध्यक्ष नैनसिंह महरले महाधिवेशन गर्न नचाहेको भन्दै राजीनामा दिएका हुन्। राजीनामा दिनेहरुमा उपाध्यक्षहरु पुष्पाकुमार शाही, संजय यादव, विकास केसी, महामन्त्री सरोजकुमार थापा, सहमहामन्त्री प्रेमराज जोशी, प्रकाश घिमिरे र अच्युतराज कलौनी रहेका छन्। अर्का सहमहान्त्री अम्बिका चलाउनेले पनि राजीनामा दिने भने पनि उनी देउवालाई भेट्न पुगिनन्।

उनले आफू आउन ढिला भएको जानकारी गराएकी थिइन्। ‘संगठनले विद्यार्थीको हितमा केही गर्न सकेन’, उपाध्यक्ष शाहीले भने, ‘यस्तो अवस्थामा किन संगठनमा बस्ने?’ उनले अध्यक्ष महरले विभिन्न बहानामा महाधिवेशन टार्दै कार्यकाल लम्ब्याउन खोजेको आरोप लगाए। ‘विधानतः नेविसंघको कार्यकाल सकियो। तर पुसको अन्तिममा महाधिवेशन हुन्छ भनेर हामी कुरेर बसेका थियौँ’, उनले भने, ‘हामीलाई उहाँ महाधिवेशनविरोधी भन्नुहुन्छ। उहाँ महाधिवेशनविरोधी कि हामी?’ महामन्त्री थापाले भने राजीनामाको विषयमा केही बोल्न चाहेनन्। ‘यो हाम्रो आन्तरिक विषय हो’, उनले भने, ‘यसलाई केही समयपछि बाहिर ल्याउँछौँ।’ विद्यार्थी नेतासँग भने आफूले नेविसंघ भंग गर्न चाएको बताएको उपाध्यक्ष शाहीले थाहाखबरलाई जानकारी दिए।

‘यो नेतृत्व म पनि राख्न चाहन्नँ तर अध्यक्षले राजीनामा दिदैनन् भनेर भन्नुभयो’, उनले भने, ‘माघ १० गते पार्टीको केन्द्रीय समितिले जे निर्णय गर्छ त्यही मान्छु भनेर सभापतिले भन्नुभएको छ।’ नेविसंघको माघ २ गते कार्यकाल सकिँदैछ। पार्टीको बैठक माघ १० गते मात्र बस्ने भएका कारण आठ दिन नेविसंघ नेतृत्वविहीन हुने निश्चित भएको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *