Sajhamanch Archive

विर्तामोडमा पृथ्वीनारायण शाहको स्मरण

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

बिर्तामोड । विभिन्न साना राज्यहरुको एकीकरणबाट नेपाल राष्ट्र निर्माण भएको स्मरणमा शुक्रबार झापाको बिर्तामोडमा फरकरुपमा राष्ट्रिय दिवस मनाइयो ।

पछिल्लो पुस्तासहित आम नागरिकमा राष्ट्रभक्तिको भाव जागृत गराउन गणतन्त्र स्थापनापछि पहिलोपटक सामाजिक संस्थाले सार्वजनिक रुपमा सबै पार्टीका नेता उपस्थित गराई राष्ट्रिय दिवस मनाएको हो । वीरता जेसीजको अगुवाईमा विभिन्न संघ–संस्थाको सहकार्यमा भएको कार्यक्रममा न कुनै भाषण थियो न त आसनग्रहण नै । कार्यक्रममा सहभागी तीन सयभन्दा बढीलाई राष्ट्रिय झण्डाको पिन ब्याच प्रदान गरेर राष्ट्रिय दिवसको शुभकामना आदान–प्रदानसहित चियापान गराइएको थियो ।

बिर्तामोडको मुक्तिचोक नजिकै रहेको वानस्टप मलको प्राङ्गणमा भएको कार्यक्रममा तत्कालीन नेकपा एमालेका जिल्ला अध्यक्ष तथा हाल नेकपाका नेता चिन्तन पाठक, नेपाली कांग्रेसका नेता देउमान थेवे, राप्रपाका नेता राजकुमार पोखरेलले पृथ्वीनारायण शाहको तस्विरमा माल्यार्पण गरी कार्यक्रमको शुरुवात गरिएको थियो ।

कार्यक्रमका परिकल्पनाकार तथा वीरता जेसीजका संस्थापक अध्यक्ष गोपालकुमार बस्नेतले राष्ट्रभक्तिको भाव जागृत गर्नुका साथै पृथ्वीनारायण शाहको योगदान र समर्पणको सम्मानस्वरुप कार्यक्रम गरिएको बताए । उनले पृथ्वीनारायण शाहको सम्झना र राष्ट्रिय दिवस मनाउनु राजतन्त्रको वकालत नभएको बरु राष्ट्रभक्तिको पक्षमा आम नागरिकमा जागरण ल्याउने पहल भएको प्रष्ट्याए ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता तथा सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधिहरु सहभागी थिए । कार्यक्रमका सहभागीहरुले पृथ्वीनारायण शाहलाई शाहवंश र राजतन्त्रमामात्र सिमित राख्न नहुने भन्दै आज हामी नेपाली भनेर गर्व गर्नुमा तिनै राष्ट्र नायकको मुख्य भूमिका रहेको स्मरण गरे । फरक ढंगले यसै वर्षबाट शुरु गरिएको राष्ट्र दिवसको कार्यक्रम आगामी वर्षबाट अझ बृहत र बिस्तारितरुपमा मनाइने बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *