लेन अनुशासन पालना नगर्ने १४ हजार चालक कार्वाहीमा
Published:
by .
काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालू आर्थिक वर्षमा लेन अनुशासन पालना नगर्ने १४ हजार २३१ सवारी साधनका चालकलाई कार्वाही गरेको छ ।
महाशाखाको टोलीले सडकमा लेन अनुशासन पालना नगरी जथाभावी सवारी साधन चलाउने सवारी चालकलाई कार्वाही गरेको हो । जसमा पुरुष १३ हजार ३३० र महिला ९०१ महिला चालक रहेका छन् ।
महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले आफ्नो लेन छोडेर अर्काको लेनमा जथाभावी सवारी चलाउने चालकलाई कार्वाही गरेको बताए । ‘आफ्नो लेन छोडेर अर्काको लेनबाट सवारी चलाउँदा धेरै दुर्घटना हुन थालेपछि ट्राफिक प्रहरीले लेन अनुशासनलाई कडाइ गरेको हो’, उनले भने ।
महाशाखाले सिसीटिभी, गोप्रो क्यामरा, बडीवान क्यामराबाट समेत लेन अनुशासन कार्वाही गर्दै आएको छ । सिसीटिभीबाट लेन अनुशासन कायम नगरेको भेटिएमा सवारी साधन नम्बर टिपेर घरमा चिठी पठाउने र जरिवाना समेत गर्ने गरेको छ ।
लेन अनुशासन कायम नगर्ने सवारी साधनका चालकलाई रु ५०० जरिवाना र एक घण्टा कक्षा लिँदै आएको छ । विसं २०७१ असोज २६ देखि लेन अनुशासन कायम नगर्ने सवारी साधनलाई कार्वाही गर्दै आएको महाशाखाले हालसम्म दुई लाख ७९ हजार ७५६ सवारी चालकलाई कार्वाही गरी कक्षा लिइसकेको छ । जसमा दुई लाख ६६ हजार ५८४ पुरुष र १३ हजार २७२ महिला रहेका छन् ।
Comments