पलायन म, पलायन कृष्ण धराबासी
Published:
by .
के लेख्ने ? किन लेख्ने ? कसका लागि लेख्ने ? यी प्रश्नहरुले लखेटिरहन्छन् ।
नेपालका विख्यात वनस्पति शास्त्री, साहित्य, समाज र संस्कृतिमा अद्भुत ज्ञान राख्ने विद्वान डा. तीर्थबहादुर श्रेष्ठको एउटा पुरानो भाषणको भिडियोमा रोकिन्छु । भन्छन्, “सबै नेपाली नेपालमा छैनन् । कोही प्रवासमा छन् । कोही गैर आवासीय नेपाली भनेर विदेशमा छन् । कोही श्रमिक बनेर गुलामी गर्दैछन् ।”
कुरो ठिकै सुनिन्छ । जसरी सबै अमेरिकी अमेरिकामा छैनन्, सबै भारतीय भारतमा छैनन् वा सबै जापानी जापानमा बस्तैैनन्, त्यसरी नै सबै नेपाली नेपालमा छैनन् । तर श्रम गर्नु र गुलामी गर्नु एउटै हो भन्ने डा. श्रेष्ठको दृष्टिदोष टिठलाग्दो छ ।
उनको निष्कर्ष छ, “नेपाल कसैको गुलाम बनेको छैन । नेपालीहरु भने गुलामी गर्न लाहोरदेखि संसारभर पुगिसकेका छन् ।” विद्वान वनस्पती शास्त्री डा. श्रेष्ठको गैर आवासीय नेपालीप्रतिको दृष्टिदोषले समकालीन नेपाली समाजको एउटा तह र तप्काको प्रतिनिधित्व गर्दछ ।
हामी नेपालीहरु बढी भावनात्मक भएर पनि होला, नेपाली सभा, समारोह र सार्वजनिक कार्यक्रमहरुमा यस्तै अभिव्यक्ति बिकाउ बनिरहेका हुन्छन् । होइन भने, गुलामी र श्रम तथा अवसरको खोजीमा हुने आप्रवासन बीचको विभेद छुट्याउने सामथ्र्य डा. श्रेष्ठजस्ता विद्वानले राख्दैनन् भन्ने मलाई किमार्थ लाग्दैन ।
“नेपाल किन बनेन ?” भन्ने खालका वहस बेलाबेला चर्चामा आइरहेका हुन्छन् । श्रमलाई सम्मान नगर्ने, गुलामी सम्झने संकुचित नेपाली सोच नै नेपाल र नेपाली बन्न नसक्ने मूल कारण हो भन्ने यो भुईमान्छेको ठम्याई छ ।
२०४८ सालतिर तेह«थुमबाट भर्खरभर्खर झापा झरेका बेला अग्रजहरुले ठूला ट्रकका ड्राइभर देखाएर पञ्जावीहरु विश्वभर पुगेका छन् भन्थे । अहिले त्यस्तै नेपालीहरु नपुगेको ठाउँ नहोला । अहिले मेरो बसोबास रहेको अमेरिकाको ग्रेटर लस एन्जलस एरियामा हामी लगभग १२ हजार नेपाली छौं भन्छौं । चर्च किनेर बौद्वस्तुपा र पशुपतिनाथ मन्दिर बनाउने गौरव रचिसकेका हामी र हाम्रो यहाँको समुदाय गर्व गर्न लायक छ ।
हामीजस्तै कहीँ कतै विदेशमा रहेका केही साथीहरु कहिलेकाहीँ सामाजिक सञ्जालमा साह्रै मन छुने स्टाटस लेख्छन्, देशलाई जोडेर । उता केही अजासु (अति जान्ने सुन्ने ) मित्रहरुले जवाफ फर्काई हाल्छन् “देशबाट पलायन भएर तिमी अर्ति दिने ?”
फेसवुकमा स्टाटस अर्कैले लेख्या हुन् । गाली पनि तिनैले खाएका हुन् । तर मलाई पो कताकता दुख्न थाल्छ । पछिल्लो समय नेपाली मनोविज्ञान धेरै असहिष्णु बनेको छ भन्ने बुझाइका कारण पनि म सोसल मिडियामा सार्वजनिक चासोका बिषयमा “ओपिनियन” राख्ने धेरै साहस गर्दिन । किनकि मलाई “तँ पलायन भइस्” भनेको सह्य हुँदैन ।
म आफूजस्ता “पलायनवादी” धेरै मान्छेहरुलाई चिहाइरहेको हुन्छु । कृष्ण धराबासी पनि अमेरिका आए । बसे । एउटा अन्तरवार्तामा प्रश्न यस्तो थियो, “धराबासी पलायन भएकै हो त ?” उनले जवाफ फर्काएका थिए, “पलायनको शाब्दिक अर्थ कुनै ठाउँमा नहुनु पनि हो । अहिले म नेपालमा छैन । म त्यहाँ नभएको अवस्थासम्मलाई पलायन नै मान्नुपर्छ । जुन दिन म नेपाल फर्कन्छु, त्यो दिन म अमेरिकाबाट पलायन भएको हुनेछु ।” अहिले उनी अमेरिकाबाट नेपाल पलायन भएको समाचार छ ।
नेपाली भाषाका जादुगर धराबासीले पलायन शब्दको शाब्दिक व्याख्या गरेर आफ्नो अमेरिका बसाईको सटिक “डिफेन्स” गरेका थिए । तर पनि मलाई चित्त बुझेको थिएन । मलाइ म पलायन भएँ भन्ने नै स्वीकार्य छैन । मलाई हामी पलायन हौं भन्ने पनि स्वीकार्य छैन । मलाई त विदेश पुगेका नेपाली नेपालसँग झन् बढी जोडिएका छन्, टाँसिएका छन् जस्तो लाग्छ । देशप्रेम उसले बुझेको छ, भोगेको छ, अनुभूत गरेको छ जस्तो लाग्छ । उसले जति देशका बारेमा अरुले सोच्छ जस्तो लाग्दैन । अनि उसले जस्तो देशको भलो अरुले चिताउँछ जस्तो पनि लाग्दैन ।
हामी देशको भूगोलबाट टाढा भएका हौं । देश भनेको भूगोल मात्र हैन । देश भनेको त्यो भन्दा धेरै धेरै हो । हामी देशप्रतिको कर्तव्यबाट पलायन भएका होइनौं । भागेका होइनौं । हाम्रा प्रियजनहरुले भनेजस्तो हामी देश मन नपरेर, माया मारेर विदेशिएका पक्कै होइनौं । देशलाई दुख्दा हामीलाई पनि दुखिरहेको हुन्छ । मरुभूमिमा पानीको महत्व थाहा भएजस्तो देश र देशप्रेम परदेशमा अझ बढी अनुभूति हुँदोरहेछ ।
र अन्त्यमा,
कोही परदेश बसेकै कारण तैंले देशको चिन्ता गर्न पाउँदैनस् भन्नेहरुप्रति मेरो कुनै गुनासो छैन । भगवान, उनीहरुलाई थोरै विवेक थपिदेऊ भन्ने प्रार्थना मात्रै हो ।
(हाल अमेरिकाको ग्रेटर लस एन्जलसमा बसोबास गर्ने लेखक ओली साझामञ्च प्रारम्भकालका सहकर्मी हुन् । – सम्पादक ।)
Comments