शिक्षकको लाइसेन्स परीक्षा नयाँ पाठ्यक्रम अनुसार, लाइसेन्स आउँदो फागुनभित्रै खुल्ने
Published:
by .
काठमाडौं । के तपाई शिक्षकको लाइसेन्स लिने तयारीमा हुनुहुन्छ ? यदि यसो हो भने तपाईले यी कुरा थाहा पाउनु पर्नेछ । शिक्षक सेवा आयोगले अब शिक्षक लाइसेन्स परीक्षा नयाँ पाठ्यक्रम अनुसार प्रदान गर्ने भएको छ ।
अबको शिक्षक लाइसेन्स परीक्षा नयाँ पाठ्यक्रम अनुसार हुने र परीक्षा आउँदो फागुन महिनाभित्रमा सञ्चालन गर्ने तयारी भइरहेको शिक्षक सेवा आयोगले जनाएको छ । आयोगले यसअघि नै शिक्षक सेवा आयोगको नयाँ पाठ्यक्रम सार्वजनिक गरिसकेको छ । अब सोही पाठ्यक्रम अनुसार विषयगत परीक्षासहितको विज्ञापन गर्ने तयारी भइरहेको शिक्षक सेवा आयोगका प्रशासकीय प्रमुख तुलसी थपलियाले जानकारी दिएका छन् ।
यसअघि लाइसेन्स परीक्षामा नेपाली, विज्ञान, गणित विषय पढाउने भए पनि एकैखाले प्रश्न सोधिने गरेको भए पनि अब छुट्टाछुट्टै प्रश्न सोधिने पनि प्रशासकीय प्रमुख थपलियाले जानकारी गराए । अब ४० अंकको विषयगत ज्ञान भनेर हरेक विषयका लागि छुट्टाछुट्टै ४० प्रश्न सोधिने जनाइएको छ । थपलियाले भने, ‘अब आफूले पढाउने विषयको गहिरो ज्ञान नभएको शिक्षक लाइसेन्स प्रक्रियाबाटै बाहिरिन्छन् ।’

यस्तै ५ अंकको ५ प्रश्न गरी २५ अंकको शिक्षण सीप सोधिने र जसमा कुन विषय पढाउने हो र कसरी पढाउने भन्ने खालका प्रश्नहरु हुने जनाइएको छ । त्यस्तै ५ अंकको ७ प्रश्न गरी ३५ अंकको पहिलाको जस्तै पेसागत ज्ञानका प्रश्नहरु सोधिने शिक्षक सेवा आयोगले जनाएको छ । यसमा संविधान, ऐनलगायतका विषयमा प्रश्नहरु हुने बताइएको छ ।
यो शैलीमा पहिलोपल्ट गर्न लागिएको शिक्षक लाइसेन्स परीक्षाबाट लाइसेन्स पाउने सहभागीले विषयगत, पेसागत र समसामयिक विषयमा ज्ञान हासिल भएकै हुनुपर्नेछ । अबको शिक्षक चुस्त र सक्षम हुनुपर्ने बताउँदै आयोगका प्रशासकीय प्रमुख थपलिया भन्छन्, ‘पहिलाको भन्दा फरक ढाँचामा शिक्षक लाइसेन्सको परीक्षा हुन्छ ।’
Comments