प्रदेश एकको हिउँदे अधिवेशन माघ २० गतेदेखि
Published:
by .
विराटनगर । प्रदेश एक स्थायी राजधानी र नाम तोक्ने गरी प्रदेश संसदको हिउँदे अधिवेशन माघ २० गतेबाट सुरू हुने भएको छ । बुधबार विराटनगरमा बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले अधिवेशन माघ २० गतेबाट सुरू गर्ने निर्णय गरेको हो ।
सरकारको सिफारिसमा अब प्रदेश प्रमुखले अधिवेशन आह्वान गर्नेछन् । प्रदेश सभाको बर्खे अधिवेशन गत असोज २३ गते सम्पन्न भएको थियो । नाम र राजधानी तोक्न सरकारले गृहकार्यसमेत सुरू गरेकोले अधिवेशनलाई महत्वका साथ हेरिएको छ ।
मन्त्रिपरिषद् बैठकले आन्तरिक मामिला मन्त्रालयको रकम खर्च गर्ने अख्तियारी प्रदान गर्ने स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको प्रदेश पर्यटन विकाससम्बन्धी विधेयकलाई संसदमा पेस गर्न पनि सहमति दिएको छ ।
कोशी रिफ्रेसमेन्ट परियोजनाको बजेट र सामाजिक विकास मन्त्रालयको योजना तथा सञ्चालन कार्यविधि २०७५ लाई मन्त्रिपरिषद्ले स्वीकृति गरेको छ । प्रदेश भूमि, कृषि तथा सहकारी मन्त्रालयको मन्त्रालय र मातहतका निकायबाट विनियोजित कार्यक्रम बजेट कार्यान्वयन गर्न निर्देशिका तथा कार्यविधिलाई समेत बैठकले स्वीकृति दिने निर्णय गरेको छ ।
Comments