काठमाडौंमै भेटियो यौनदुराचारीको अड्डा, साना बालकहरूको उद्धार
Published: (Updated: )
by .
काठमाडौं, ७ माघ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बाल यौन दुराचारी बेलायती नागरिकलाई पक्राउ गरेर सार्वजनिक गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाल यौनदुराचार आरोपमा बेलायती नागरिक इयान रोबर्ट कउललाई शनिबार काठमाडौंबाट पक्राउ गरेको हो ।
काठमाडौंको कालीमाटी–१३ स्थित मथुरी सदनमा अपार्टमेन्ट भाडामा लिएर बसेका ५० वर्षीय इयान रोबर्ट कउललाई शनिबार बिहान ४ बजे प्रहरीले पक्राउ गरेको जनाएको छ ।
ती विदेशी नागरिक ३ नेपाली बालकसहित पक्राउ परेका हुन् । उनले यौन दुराचार गरेको आरोप छ । उनलाई यो काममा सघाउने २ नेपालीले सहयोग गरेका थिए । उनीहरूलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
इयान रोबर्ट कउलबारे अनेक अपराध खबर बाहिर आएका छन् । कउल ३ पीडित बालक र २ सहयोगीसहित समातिएपछि धेरै कुरा बाहिर आएको छ ।
उनले बाल यौन दुराचार र अप्राकृतिक मैथुन गराउने गरेको आरोप छ । गाउँघर पुगेर नेपाली बालबालिकालाई पढाउने नाममा काठमाडौं ल्याउने अपार्टमेन्टमै राखेर अप्राकृतिक मैथुन गर्ने उनको आदत रहेको प्रहरीले जनाएको छ ।
इयान रोबर्ट कउल १८ औँ पटक नेपाल आउँदा पक्राउ परेका हुन् । सिआइबीले उनीमाथि थप अनुसन्धान यस अर्थमा गरिरहेको छ कि, उनलाई पक्राउ गर्न इन्टरपोलमा सूचना मात्र थिएन । बेलायत प्रहरीले कउल नेपाल भएको र उनलाई पक्रेर बेलायत पठाउन पत्राचार पनि गरेको थियो ।
सिआइबीले छानबिन गरिरहेका कउलको अन्तर्राष्ट्रिय सञ्जाल रहेको पाइएको छ । उनले विभिन्न देशमा आफ्नो सम्पर्कसूत्र बनाएका छन् ।
यौन दुराचार र अप्राकृतिक मैथुनमात्र होइन, उनले डिभाइस जोडेर अन्तर्राष्ट्रिय यौन दुराचारी सञ्जालमा नेपाली बालकको अश्लील भिडियो पनि पठाइरहेका थिए ।
सिआइबीमा बाल यौनदुराचारमा विदेशी नागरिक जोडिएको यो नवौँ मुद्दा हो । यसअघिका मुद्दामा विदेशी नागरिक सामान्य ढंगमा जोडिएका थिए ।
सामान्य भाषामा भन्नुपर्दा ‘पेडोफिलिया’ एक प्रकारको बालयौनाकर्षण मानिन्छ ।
पेडोफिलिया विशेष गरेर यौवनावस्थामा प्रवेश नगरेका वा भर्खरै यौवन अवस्थामा पुगेका बालक वा बालिका वा दुवै बालबालिकाप्रति हुने यौनअभिरुचि या हिंसा मानिन्छ ।
परिभाषामा केही विवाद भए पनि वास्तवमा पेडोफिलिया भन्नाले बालबालिकाप्रतिको यौन परिकल्पना र उनीहरुप्रति देखाइने यौन व्यवहारहरू नै भन्ने नै बुझिन्छ ।
यस्तो व्यवहार भएका व्यक्तिले बालबालिकाको रुचि तथा आवश्यकतालाई ध्यानले हेरिरहेका हुन्छन् र उनीहरूको आवश्यकता परिपूर्ति गर्न सक्दो प्रयास पनि गर्छन् भन्ने यौन शिक्षा विशेषज्ञहरुको बुझाई छ । यस्तो यौन चाहना हुने मानिसहरूले ससाना बालबालिकालाई पनि यौन दुर्वव्यवहार गर्दछन् ।
दैैनिक नेपालबाट ।
Comments