Sajhamanch Archive

अकबरे खेतीतर्फ इलामका किसानहरू आकर्षित

Published: (Updated: ) in राष्ट्रिय समाचार by .

इलाम । तीन वर्ष अघिबाट पकेट क्षेत्र संचालनमा आएपछि अकबरे खेतीतर्फ इलामका किसानहरू आकर्षित भएका छन्। प्रधानमन्त्री कृषि परियोजनाअन्तर्गत माइजोगमाई गाउँपालिकाको सोयाङमा लालीगुँरास अकबरे उत्पादन पकेट आयोजना र रोङ गाउँपालिकाको देवानछाप खुर्सानी पकेट आयोजना सञ्चालनमा आएपछि सो क्षेत्रका किसान अकबरे खेतीतर्फ आकर्षाित भएका हुन्।

१० हेक्टर क्षेत्रफलमा खुर्सानी लगाउनु पर्ने मापदण्डअनुसार दुवै पकेट क्षेत्रमा कार्यक्रम सञ्चालन भएको कृषिज्ञान केन्द्र इलामका प्रमुख रामसोगारथ शाहले बताए। खुर्सानी बालीलाई पनि व्यावसायिकतातिर लैजान जिल्लाको कृषि ज्ञान केन्द्रमार्फत पोष्ट हार्भेष्ट, साना सिंचाइ र बीउ बिजनमा सहयोग पुर्‍याइँदै आएको छ। इलाम घुम्न आउने पर्यटक तथा अध्ययन टोली इलामका ग्रामीण क्षेत्रमै पुगेर अकबरेको अध्ययन गर्न थालेका छन। इलामको सात अ मध्ये एक मानिएको अकबरे खोसार्नी इलाम आउने पर्यटकको कोशेली हुन थालेपछि किसानको आम्दानी समेत बढदै जान थालेको छ। पकेट क्षेत्र संचालनमा आएपछि जिल्लाभित्र र बाहिरका व्यपारी किसानको खेतसम्म पुग्ने गरेका छन्।

अकबरे बिक्री गरेर वार्षिक पाँचलाख भन्दा धेरै कमाउने कृषक धेरै छन्। माइजोगमाईका किसानले अन्य खेती छाडेर नै भएभरको बारीमा अकबरे लगाएका छन्। माइजोगमाईका किसान श्यामप्रसाद न्यौपाने सातामा ७० केजीभन्दा बढी अकबरे हुने गरेको बताउँछन्। ‘वार्षिक कमाई तीन लाखको हाराहारीमा हुन्छ।’ उनले भने। निम्न आयस्तर भएको उनको परिवारलाई यो खेती थालेपछि घर खर्च चलाउन सहज भएको छ। दुई रोपनीदेखि २० रोपनी क्षेत्रफलसम्म अकबरे खेती विस्तार गरेर यहाँका किसानले राम्रै आम्दानी गरेका छन्।

खाँदा स्वादिलो हुने र असर कम गर्ने भन्दै राजधानीसम्म अकवरेको माग बढ्दै गएको छ। इलाममा उत्पादित खुर्सानी पूर्वी तराई हुँदै भारतका सिलिगुढी, दार्जिलिङ, सिक्किम, कालेम्पुङ मेघालय लगायतका बजारसम्म जाने गरेको छ। पछिल्लो समय हङकङ, सिंगापुरबाट समेत माग वढ्न थालेको छ। स्थानीय वजारमा प्रतिकेजी २५० देखि ४५० रुपैयाँसम्ममा बिक्री भइरहेको अकबरे खुर्सानीको हावापानीको हिसाबले एक हजारदेखि तीनहजार ९०० मिटरको उचाइसम्म गर्न सकिने प्राविधिकहरूको भनाइ छ। जिल्लाका हरेक गाउँमा यसको व्यवसायिक खेती गर्ने कृषकको संख्या थपिदो छ। यहाँको अकबरेको बीउ खोज्दै पश्चिमी जिल्लाका कृषक पनि आउने क्रम बढेको छ। चियाबारीको हरियालीसँगै कृषिको अध्ययनमा आउने टोलीले अकबरेको बगान घुम्न छुटाउँदैनन्।

प्याकिङ गरेर लामो समयसम्मसमेत राख्ने भएकाले यहाँ आउने आन्तरिक र बाहय पर्यटकले पनि कोसेलीको रुपमा लैजाने गरकाले अकबरेको बिक्री बढ्दै गएको छ। कृषकबाट खरिद गरेर प्याकिङ गर्दै बजारसम्म पुर्‍याउनेलाई पनि रोजगारीको अवसर सिर्जना भएको छ। ‘अकबरेकै प्याकिङ गरेर जिल्ला र बाहिरका बजारसम्म पुर्‍याउन भ्याइ नभ्याई छ’ इलाम सदरमुकाममा उद्योग नै संचालन गरेर कारोबार गर्दै आएकी उषा निरौलाले भनिन ‘माग बढ्दै गएकाले व्यस्तता पनि उत्तिकै छ।’ निरौलाले बजारमा अकबरे खुर्सानीको अचार, पेस्ट, निम्की बनाएर बिक्री गर्दै आएकी छन्। इलाममा १६३ हेक्टरमा ६१० मेट्रिक टन अकबरे उत्पादन हुने गरेको छ। अकबरे बिक्रीबाट नै इलाममा वार्षिक १३ करोड ७५ लाख रुपैयाँ भित्रने कृषि ज्ञान केन्द्र प्रमुख रामसोगारथ शाहले बताए।
थाहा खबरबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *