Sajhamanch Archive

रक्सी पिएर मञ्चमा उक्लिएका नेताहरूलाई ‘रामधुलाई’

Published: in राष्ट्रिय समाचार by .

ओखलढुंगा । ओखलढुंगा जिल्लामा आसन ग्रहणको विषयमा विवाद हुँदा नेपाल विद्यार्थी संघ जिल्लाको १२औं अधिवेशनको उदघाटन सत्रमा कांग्रेसका नेताहरूबीच कुटाकुट भएको छ ।

ओखलढुंगामा सोमबार साँझ मञ्चमै भएको कुटाकुटमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नेता बालकृष्ण दाहालले पिटाइखाएका छन् । उनको चस्मा पनि फुटेको छ ।

दाहालले आँखामा चोट लागेको र सामुदायिक अस्पतालमा परीक्षण गरेको बताएका छन् । दाहालसहितको समूहले रक्सी पिएर मञ्चमा उक्लिएर कार्यक्रम विथोल्न खोजेपछि सभापति शेरबहादुर देउवा समूहले रामधुलाई गरेको प्रत्यक्षदर्शीले जानकारी दिए ।

कार्यक्रम विथोल्न खोज्ने ओखलढुंगाको पूर्वसभापति गोमा केसीमाथि पनि कुटपिट भएको छ । केसीले पत्रकार सम्मेलनमा आफूमाथि जिल्ला सभापति प्रदीप सुनुवारले हातपात गरेर आरोप लगाइन् ।

नेविसंघका केन्द्रीय उपाध्यक्ष नवीन राईलाई प्रमुख अतिथि बनाउनुपर्ने कुरामा विवाद भएको थियो । जिल्ला सभापति प्रदीप सुनुवारलाई प्रमुख अतिथि बनाएपछि विवाद सुरु भएको थियो ।

मञ्चमा जिल्ला सभापति प्रदीप सुनुवार, उपसभापति तेजेन्द्र खनाल र नेताहरू बालकृष्ण दाहाल, लीलाबल्दभ दाहाल, पूर्व सभापति गोमा केसीबीच झडप भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

झडपपछि असन्तुष्ट पक्षले नेविसंघको कार्यक्रम बहिस्कार गरेका छन् । नेताहरूको कुटाकुटपछि विद्यार्थीसमेत दुई पक्षमा विभाजित भएका छन् । विद्यमान पदाधिकारी तथा प्रतिनिधि आएका विद्यार्थीहरु पक्ष विपक्षमा बाँडिए पनि अधिवेशनको बन्द सत्र भने सञ्चालन भएको छ ।

संस्थापन पक्षले विधि मिचेर अधिवेशन गरेको भन्दै विवादपछि असन्तुष्ट पक्षका नेताहरुले सोमबार साँझ पत्रकार सम्मेलन गरेर जिल्ला सभापति प्रदीप सुनुवार र उपसभापति तेजेन्द्र खनालको राजीनामा माग गरेका छन् ।

कांग्रेस ओखलढुंगाका जिल्ला सभापति प्रदीप सुनुवारले मादक पदार्थ सेवान गरेका केही व्यक्तिहरू घुसाएर पार्टी हितविरुद्ध लागेका तत्वहरूले आफूमाथि आक्रमण प्रयास गरेको बताए ।सभापति सुनुवारले आफूमाथि आक्रमण प्रयास गर्नेहरूलाई अनुशासनको कारवाही गर्ने चेतावनी दिएका छन् ।

लामो समयदेखि आन्तरिक विवादमा अल्झिएको कांग्रेसको विवाद अहिले आएर झडपमा पुगेको छ । संसदीय निर्वाचनमा असहयोग गरेको भन्दै असन्तुष्ट पक्षका केही नेताहरुलाई भने जिल्ला समितिले यसअघि नै कारवाही गरेको पनि सभापति सुनुवारले बताएका छन् ।

दैनिक नेपालबाट ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *