सडक विस्तारका क्रममा पाइपलाइनमा क्षति हुँदा खानेपानीमा समस्या
Published:
by .
भद्रपुर । भद्रपुर नगर क्षेत्रमा तीन वर्षयता निर्माण भइरहेको सडक स्तरोन्नतीका क्रममा सदरमुकाम क्षेत्रको चन्द्रगढी खानेपानी आयोजनामा ६ करोड बढीको क्षति पुगेको छ ।
सघन सहरी विकास कार्यक्रम अन्र्तगत निर्माण भइरहेको सडक विस्तारका क्रममा खानेपानी तथा सरसफाई समितिको क्षेत्र भित्र ६ करोड बराबरको पाइप लाइनमा क्षति हुँदा उपभोक्तालाई शुद्ध पिउने पानी वितरणमा समस्या परेको हो । २० वर्षयता साविकको चन्द्रगढी, भद्रपुर र महेशपुर क्षेत्रका केही वडामा पिउने पानी वितरण गर्दै आइरहेको सदरमुकामको चन्द्रगढी खानेपानी उपभोक्ता तथा सरसफाई समितिले एकल लगानीमा पाइपलाइन बनाउन नसक्ने भएपछि पानी वितरण प्रभावकारी बन्न सकिरहेको छैन ।
समितिको कार्यक्षेत्र भित्र समितिले विज्ञ टोली सहित स्थलगत अनुगमन गर्ने क्रममा गत वर्षमात्र विछ्याइएको नयाँ पाइपलाइन समेत सञ्चालन हुन नसक्ने गरी क्षत विच्छेद भएको पाइएपछि दोस्रो खानेपानी ट्याङ्की निर्माण सम्पन्न गरेर पनि सञ्चालनमा आउन सकेको छैन । झापा सदरमुकाम क्षेत्रमा देखिएको पानी अभाव हटाउन तयार पारिएको दोस्रो खानेपानी ट्याङ्की सञ्चालनमा सघन सहरी विकासका कामले अवरोध हुँदा समस्या परेको अध्यक्ष पुरुषोत्तम अधिकारीले जानकारी दिए । अध्यक्ष अधिकारीका अनुसार सघन सहरी विकासले सडक स्तरीकरणसित पाइपलाई निर्माणको जिम्मा लिए पनि कहिलेबाट काम गर्ने हो र उपभोक्ताको पानी माग पूरा हुने हो भन्ने एकिन गर्न सकिएको छैन । जसको प्रत्यक्ष असर स्थानीयमा परिरहेको छ । सडकको काम नसकी पाइपलाइनको काम नहुने निर्माण कम्पनी पक्षधरको छ । यसकारण सदरमुकाममा पानी समस्या हल हुन समयलाग्ने देखिए पछि स्थानीय थप चिन्तामा परेका छन् ।
Comments