तेह्रथुममा आगोलागी, डेढ करोड बढीको क्षति, एक व्यक्ति घाइते
Published:
by .
तेह्रथुम । तेह्रथुमको लालीगुराँस नगरपालिकाको केन्द्र वसन्तपुरबजारमा बिहीबार आगोलागी हुँदा डेढ करोड रुपैयाँ बढीको क्षति भएको छ । आगो निभाउनेक्रममा एकजना व्यक्ति घाइते भएका छन् ।
लालीगुराँस नगरपालिका–२ स्थित मध्यबजारमा भएको आगोलागीबाट लालबहादुर याख्खाको ढुंगा–माटोको गाह्रो र जस्ताको छानो भएको दुईतले घर जलेर पूर्णरुपमा नस्ट भएको छ ।आगो नियन्त्रणकाक्रममा छेउका दुईओटा घरमासमेत क्षति पुगेको छ । छिमेकी रेनुका गुरुङ र फूलमाया गुरुङको घरमा क्षति पुगेको हो ।
आगो निभाउनेक्रममा स्थानीय ५० वर्षीय गोपाल गुरुङ घाइते भएका छन् । उनको स्थानीय वसन्तपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको नगरप्रमुख अर्जुन माबोहाङले बताए ।
बिहीबार अपराह्न पौने ५ बजेतिर मकलमा आगो तापेर बसेका व्यापारी छेतेन शाहको पसलबाट आगो सल्किएको थियो ।
पेट्रोल र ग्यासकोसमेत व्यापार गर्ने शाहको पसलमा मकलको आगो भुइँमा झर्दा आगो सल्किएको र आगोलागी भएको प्रहरीले जनाएको छ ।
नगरपालिकाको केन्द्रमै भएपनि समयमा दमकल आएन । स्थानीयबासी सडकमा रहेको खानेपानीको पाइप फुटाएर आगो नियन्त्रणमा जुटेका थिए ।
पछि दमकलको सहायतामा प्रहरी र स्थानीयको सक्रियतामा करिब ६ बजे आगो नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय वसन्तपुरले जनाएको छ ।
Comments