‘दोस्रो अपग्रेड टेक्नोलोजी एण्ड टेक्निकल सेमिनार’ शुक्रबारबाट सुरु
Published:
by .
काँकरभिट्टा । प्रदेश नम्बर एक स्तरीय ‘दोस्रो अपग्रेड टेक्नोलोजी एण्ड टेक्निकल सेमिनार’ शुक्रबारबाट विधिवत् रुपमा सुरु भएको छ ।
काँकरभिट्टा बहुमुखी क्याम्पसको सभा कक्षमा आयोजित एक समारोहकाबीच राष्ट्रिय खेलकुद परिषद्का सदस्य शम्भु आचार्यले सेमिनारको उद्घाटन गरेका हुन् ।
कार्यक्रममा नेपाल कराते महासङ्घका अध्यक्ष पुरेन्द्रविक्रम लाखे, नेपाल सितोरियो करातेका संस्थापक खेलाडी कुलप्रसाद दाहाल, मदन भण्डारी स्पोर्टस् एकाडेमीका सचिव ओमकृष्ण प्रसाईं, पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शङ्कर थापालगायतले शुभकामना व्यक्त गरे ।
सो अवसरमा करातेका राष्ट्रिय खेलाडी एवम् प्रशिक्षक काँकरभिट्टाका तिलक तामाङले विभिन्न सामाजिक सङ्घ संस्थामा आबद्ध रहेर पनि दक्ष खेलाडी उत्पादन निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै सम्मान गरिएको आयोजक सचिव जगन कार्कीले बताए । मिर्गौला रोगबाट पीडित करातेका पूर्व राखेप प्रशिक्षक सौरभ प्रधानलाई उपचार सहयोग स्वरुप १० हजार रुपैयाँ प्रदान गरिएको कार्यक्रममा २० वर्षपछि पुनः करातेमा फर्किएका झापाका भक्त लिम्बू र श्रवण कुमार तथा इलामका शिक्षक कमल राई र लिला लिम्बूलाई स्वागत गरियो ।
नेपाल कराते महासङ्घ र सितोरियो कराते सङ्घको वार्षिक कार्यक्रम अन्तरगत बिहीबारबाट सुरु सेमिनारमा पूर्वी नेपालका ८ जिल्लाका २ सय १५ जना खेलाडीले भाग लिएका आयोजक कमिटी उपाध्यक्ष कुमार उप्रेतीले जानकारी दिए । उनका अनुसार तीन दिने सेमिनारमा सहभागी खेलाडीले ब्ल्याक बेल्टको फस्ट डान, सेकेण्ड डान र थर्ड डानमा सैद्धान्तिक र प्रयोगात्मक परीक्षा दिनेछन् ।
आयोजक झापा टेक्निकल कमिटीका अध्यक्ष कृष्ण बस्नेतको अध्यक्षतामा सम्पन्न सेमिनारको उद्घाटन सत्रमा स्वागत करातेका वरिष्ठ प्रशिक्षक मदन उप्रेती र सञ्चालन प्राविधिक संयोजक दुर्गाराज निरौलाले गरेका थिए ।
Comments